काठमाण्डौ । दोश्रो बजारमा दैनिकजसो गइरहेको पहिरो तत्काल रोकिने अवस्था छैन । बजारको घटबढलाई प्रभावित गर्ने संकेत तथा अवस्थाहरुलाई हेर्दा पनि बजार अझै तल जानसक्ने संभावना बढेको भन्दै जानकारहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले बजारले बियरिस ट्रेण्ड समातेको उल्लेख गर्दै तत्काल यो गिरावट नरोकिने र यसले धेरैलाइ भड्खालोमा पार्ने दाबी गरेका हुन् । 

बिजशालासँगको विशेष कुराकानीमा स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले विभिन्न कारण पेश गर्दै बजारको गिरावट तत्काल थामिने अवस्था नरहेको दाबी गरे । उनले बजार घट्नसक्ने भन्दै पेश गरेका ९ कारण यस्ता छन् :

१.साथ छाड्यो टर्नओभरले
लामो समयदेखि निरन्तर बढेर उचाई लिएको बजार अहिले बियरिस ट्रेण्डमा छ । तर पछिल्लो समय एकैदिनको फरकमा बजारमा २० देखि ५० अंकसम्मको उतारचढाव देखियो । यसले बजारका लगानीकर्तामा झनै ठूलो अन्यौल सिर्जना गरेको छ । अघिल्लो हप्ता र त्यसअघिका केही हप्तामा पनि बजार सूचक घटे पनि टर्नओभरले साथ छाडेको थिएन । तर, यो हप्ता बजारलाई टर्नओभरले पनि साथ दिन छाडेको छ । परिसूचकसँगै टर्नओभर पनि उही गतिमा घट्नु भनेको भविष्यमा बजार अझै तल झर्छ भन्ने संकेत हो, त्यसकारण यस्तो बेलामा लगानीकर्ता सचेत बन्न आवश्यक छ । हिजोको अवस्थासँग तुलना गर्दा अहिले बजारको टर्न ओभर ५० प्रतिशत भन्दा बढीले घटिसकेको छ । यो हप्ता टर्नओभरले पनि साथ दिन छाडेका कारण बजार अझै तल जानसक्छ । 

२.पैसा छैन, कर्जा पनि छैन
हिजोको दिनमा अर्थतन्त्रले सपोर्ट नगरे पनि बजार अनावश्यक ढंगले बढ्यो, बुम भयो । त्यसबेला लगानीयोग्य रकम बजारमा पर्याप्त थियो । लगानी गर्ने अन्य क्षेत्र प्यारालाइसिसजस्तो हुँदा धेरैले दोश्रो बजारमा लगानी खन्याए । बैंक तथा बित्तीय संस्थाहरुले पनि सो बेला सेयरकर्जालाई उच्च प्राथमिकता दिए । सस्तो र सहज रुपमा सेयर कर्जा पाइने भएपछि धेरैले यसमा लगानी गरे र बजार बुम भयो । तर अहिलेको अवस्था ठीक उल्टो छ । लगानीयोग्य रकमको चरम अभाव छ । धेरै बैंकहरुले सेयर कर्जा नै दिन छाडेका छन् । एकातिर लगानीयोग्य रकम नहुनुु र अर्कोतर्फ कर्जा समेत सुलभ रुपमा नपाइने भएपछि लगानीकर्ताले पुरानो कर्जाको ब्याज तिर्नका लागि समेत सेयर बिक्री गरिरहेको अवस्था छ । यो अवस्थामा तत्काल ठूलो सुधारको अवस्था कतैबाट नदेखिएकोले आगामी दिनमा बजारमा अझै ठूलो पहिरो जानसक्छ । किनभने ब्याजदर हेरफेरको प्रभाव सधैं पूँजीबजारमा पर्छ । 

३.बैंक र बिमाले डूूबाए 
नेपालको दोश्रो बजार बंैक र बिमा केन्द्रीत छ । यी दुुई समूूहमा आउने उतारचढाव वा गडबडीले समग्र बजारमा प्रभाव पर्छ । अहिले त्यही भइरहेको छ । हिजोको दिनमा बिमा समितिले बिमा कम्पनीको चुक्तापूँजी बढाउने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेपछि त्यसैको आधारमा बिमा कम्पनीको सेयरमा भकाभक लगानी गर्नेहरु अहिले बिलखबन्दमा छन् । बिमाप्रति लगानीकर्ताको आकर्षणकै कारण पनि बजार १८ सय माथि पुुगेको थियो । तर, अब बिमा कम्पनीको चुक्तापूँजी बढाउने त्यो प्रस्ताव नै अलपत्र छ । यसले समेत यो समूूहप्रतिको आकर्षण घटेको छ । बरु घट्दो बजारमा थोरै घाटै खाएर पनि सेयर बिक्री गर्न बिमाका लगानीकर्ता पनि अग्रसर छन् । यसले समेत बजारलाई घटाइरहेको छ । 

अर्कोतर्फ राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत २ अर्ब पूँजी भएको बैंकलाई ८ अर्ब पूँजी पुर्याउन निर्देशन दियो । यसले बजारमा हकप्रद, बोनस सेयरको बाढी नै आयो । २ अर्ब पूँजी हुँदा २० प्रतिशत लाभांश दिने कुनै बैंकले ८ अर्ब पूँजी पुर्याएपछि २० प्रतिशत नै लाभांश दिन संभव छैन । चुक्तापूँजी बढ्नेबित्तिकै विजिनेश बढ्दैन, यसले आगामी दिनमा बैंक तथा बित्तीय संस्थाबाट पाउने बोनस अत्यन्त न्यून हुनेछ । यो कुरा बुुझेका कतिपय बाठा लगानीकर्ताले आफ्नो नामको सेयर बिक्री गरेर लगानीका अन्य विकल्पतर्फ खन्याउन थालेका छन् । यसले समेत बिक्रीको चाप बढाएर सूचक घटाउन मद्धत गरेको छ । 

स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्याल

..............................................................................

४.एजीएम र बुुक क्लोज
हकप्रद र बोनस सेयरका लागि कम्पनीहरुले धमाधम वार्षिक साधारणसभा(एजीएम) गरिरहेका छन् । बुुक क्लोजसँगै विभिन्न कम्पनीहरुको मूल्य समायोजन हुँदा घटेर आउने भएकोले समेत बजारमा आकर्षण छैन । जस्तो मंगलबारसम्म एभरेष्ट बैंकको सेयरमा ठूलो आकर्षण थियो, तर जब बुधबार बिहान त्यसको मूल्य समायोजन भयो, लगानीकर्ताहरुको त्यसप्रतिको आकर्षण घट्यो । यहीकारण समेत बजारको चहलपहल सुुस्ताएको छ । राइट र बोनसको अथाहा बाढीले बजारमा माग भन्दा बढी सेयरको आपूर्ति भएको छ र यसले मूल्यमा ठूलो गिरावट ल्याएको छ । यसले समेत बजार अझै घटिरहेको छ । यो अवस्थामा तत्काल सुधार हुँदैन, बरु अझ धेरै युनिट सेयरहरु आउनेवाला छन्, यसले समेत बजार अझै घट्नसक्छ । 

५.मार्जिन कल
धितोमा राखेको सेयरको बजार मूल्य घट्दै गएमा वा ब्रोकरकहाँबाट मार्जिनमा खरीद गरिएको सेयरको मूल्य घट्दै गएमा लगानीकर्तालाई घाटा हुन्छ भने बैंक तथा ब्रोकरलाई दिएको ऋण डूूब्ने जोखिम बढ्दै जान्छ । त्यसैले यदि सेयरको मूल्य घट्दै गई कुल बजार मूल्यमा ऋणको रकम घटाएर बाँकी रहने रकमको प्रतिशत(लगानीकर्ताको वास्तविक मार्जिन प्रतिशत) तोकिएको प्रतिशतभन्दा तल गएमा बैंकमा सेयर धितो राखेर ऋण लिएकाहरुलाई बैंकले थप रकम जम्मा गर्न वा अन्य सेयर धितोको रुपमा थप्न आग्रह गर्छ । यस्तो आग्रहलई मार्जिन कल भनिन्छ । अहिले बजारमा धेरै भन्दा धेरै लगानीकर्ताको मार्जिन कलको अवस्था आएकै कारण सेयरको आपूर्ति बढी बजार थप घटेको हो । यो अवस्था अझै रहनेछ र यसले बजारलाई थप घट्न मद्धत पुर्याउनेछ । त्यसो त बजार बढ्ने आशामा सेयर होल्ड गरेर बस्नेहरु पनि पछिल्लो समय आत्तिएका छन्, यसले समेत बजारमा बिक्रीको चाप बढाएको छ । 

६.हकप्रद भर्नुुपर्ने बाध्यता
अर्को कारण भनेको उच्च प्रतिशतमा जारी गर्न थालिएको हकप्रद पनि हो । बैंक तथा बित्तीय संस्थाहरुले चुक्तापूँजी ४ गुणाले बढाउनुपर्ने अवस्थामा ठूलो परिमाणमा हकप्रद सेयर जारी गरिरहेका छन् । यसले लगानीकर्तालाई भएको सेयर पनि बिक्री गरेर हकप्रदमा लगानी गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ । कारण यही बेला बैंकबाट कर्जा पाइन्न भने लगानीयोग्य रकमको समेत अभाव छ । यस्तो बेलामा लगानीकताले आफूले होल्ड गरेको दोश्रो कम्पनीको सेयर बिक्री गरेर राम्रो कम्पनीमा रहेको आफ्नो सेयरको हकप्रद भर्नुुपर्ने बाध्यता आइलागेको छ। यस्ता लगानीकर्ताका कारण समेत बिक्रीको चाप बढी बजार घट्न बल पुगिरहेको हो । 

७. एफपीओ र आइपीओमा नजर
कतिपय लगानीकर्ताहरुले पछिल्लो समय विभिन्न कम्पनीको एफपीओ र आइपीओमा लगानी गरिरहेका छन् । स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई बैंक जस्ता संस्थाले एफपीओ ल्याउँदैछन् । बजारको चलनचल्तीको मूल्य भन्दा सस्तोमा एफपीओ खरीद गर्न पाइने भएका कारण समेत कतिपय लगानीकर्ताहरु पैसाको जोहो गर्नतिर लागेका छन् । उनीहरुका लागि यसको एक मात्र विकल्प होल्ड गरेको सेयर बिक्री गर्नु नै रहेको छ । यसले समेत बिक्रीको चाप बढाएको छ । आइपीओमा समेत त्यस्तै आकर्षण छ । त्यसो त एफपीओ र आइपीओ जस्ता सार्वजनिक निश्कासनमा लगानी गर्नेमध्ये अधिकांश दोश्रो बजारका कारोबार वा लगानीकर्ता नै छन् । उनीहरुको ध्यान नै यतातर्फ मोडिएपछि र गोजीमा पैसा नहुँदा भएको सेयर बिक्री गरेर लगानीको जोहो गर्नुको अर्को विकल्प छैन । आइपीओको पाइपलाइनमा धेरै कम्पनी रहेका कारण आगामी दिनमा बजारलाई तल झार्न झनै दवाब पुुग्नेछ ।  

८.भारु नोटबन्दीको असर
दोश्रो बजारमा ठूलो स्केलमा लगानी गर्नेमध्ये केही लगानीकर्ता भारतीय मूलका नेपालीहरु पनि छन् । उनीहरुको प्राथमिकता सेयर बजार भन्दा पनि आफ्नो उद्योगधन्दा र कलकारखानाहरु पर्छन् । भारु ५ सय र १ हजारमा प्रतिबन्ध लागेपछि र उनीहरुसँग भएको भारु व्यवस्थापनको बिषय नटुंगिएको कारण उनीहरुलाई आफ्नो उद्योगधन्दा संचालन गर्न पैसाको अभाव भएको छ । साथमा भएको भारु नचल्ने र पैसाको जोहो गर्ने अन्य विकल्प नभएपछि उनीहरुले ठूलो स्केलमा सेयर बिक्री गरेर आवश्यक लगानी जम्मा गरिरहेका छन् । यसले समेत बजारलाई घट्न मद्धत पुगिरहेको छ । उनीहरुले नेपालमा सधैं आइसीको सर्टेज हुने भएका कारण ठूलो परिमाणमा त्यस्ता नोट राखेका थिए, तर रातारात नोटबन्दी भएपछि आफ्ना उद्योगधन्दा जोगाउनका लागि त्यस्ता लगानीकर्ताले सेयर बिक्री गरेर आएको पैसालाई त्यता प्रयोग गरिरहेका छन् । यसले पनि नजानिँदो पाराले बजारमा असर गरेको छ । 

९.अझै घट्छ.............!!!
र, निश्कर्षमा हेर्दा, बजार अझै घट्ने संभावना बढी देखिन्छ । टर्नओभरले सूचकलाई साथ नदिएसम्म बुुझ्नुुपर्छ, त्यो बजारमा उच्च क्रय क्षमता छैन । यी बाहेक बजार बढ्ने अन्य सकारात्मक संकेतहरु पनि देखिएका छैनन् । एकदिनमा बजार १० अंकले घट्नु वा बढ्नुु सामान्य कुरा हो, तर तत्काल बजार बाउन्स ब्याक हुने संभावना न्यून छ । तर, अर्को साताबाट ठूलो उतारचढाव देखिएन र टर्नओभर पनि परिसूचकसँगै मेन्टेन भयो भने चाहि आत्तिनुपर्ने अवस्था पनि नआउनसक्छ ।