काठमाण्डौ । सेयर ब्रोकर(धितोपत्र दलाल व्यवसायी)ले साबिकको चुक्तापुँजीमा १० गुणा वृद्धि गर्नुपर्ने भएको छ । 

धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली), २०६४ मा नेपाल सरकारको स्वीकृतिमा संशोधन गरी निकै कडा व्यवस्था गरेको हो।

यो व्यवस्था अनुसार अब दलाल व्यवसायीले साबिकको २० लाख चुक्तापुँजीलाई १० गुणा बढी वृद्धि गरी २ करोड पुर्याउनुपर्नेछ भने मुख्य कार्यालयमा कम्तीमा ५ कर्मचारी हुनैपर्ने व्यवस्था गरिएको छ । 

संसोधनमा बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्नसक्ने र आवश्यक पूर्वाधार तथा अन्य शर्तहरु बोर्डले तोक्नसक्ने व्यवस्गा गरिएको छ । ब्रोकरको मुख्य कार्यालयमा कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने र परिपालन अधिकृत तथा सूचना प्रविधि सहित पाँच कर्मचारी हुनैपर्ने व्यवस्था समेत गरिएको छ । 

हाल कतिपय धितोपत्र दलाल व्यवसायीहरुकले शाखा कार्यालय विस्तार गरी देशका विभिन्न स्थानहरुबाट सेवा प्रदान गर्दै आइरहेको र यो सेवालाई अझ देशव्यापी रुपमा विस्तार र व्यवस्थित गरी बढी भन्दा बढी लगानीकर्ताको पहुँचमा पुर्याउन आवश्यक रहेकोले नियमावली संसोधन गरिएको बोर्ड प्रवक्ता निरज गिरीको प्रष्टोक्ति छ ‘शाखा विस्तार कार्यलाई अझ सहज वनाउन तथा यसमा रहने जोखिम समेतलाई मध्यनजर गर्दै सोको व्यवस्थापनको लागि धितोपत्र दलाल व्यवसायीको पूँजी, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन लगायतका विषयहरुमा आवश्यक व्यवस्था गरी सो नियमावलीमा संशोधन गरिएको छ ।’ बोर्डको विज्ञप्तिमा भनिएको छ–‘संशोधित व्यवस्थानुसार बोर्डले धितोपत्र व्यवसायीको शाखा व्यवस्थापनलाई अझ व्यवस्थित र सुदृढ गर्दै लानेछ । जसबाट  धितोपत्र  व्यवसायको व्यवसायिक  जोखिम न्युनिकरण हुँदै जानेछ ।’