काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को बजेटले धितोपत्र बजारको दायरा फराकिलो पार्ने भन्दै स्टक ब्रोकर एशोसिएसनले स्वागत गरेको छ । 

एशोसिएसनले एक विज्ञप्ति जारी गर्दै बजेट वक्तव्यमार्फत उच्च प्राथमिकताका साथ धितोपत्र बजारको विकास र विस्तारका लागि गरिएका व्यवस्थाहरुलाई स्वागत गरेको हो । 

'धितोपत्र कारोबारको लाभमा लाग्ने पूँजीगत लाभकर गणना भारित औसत लागत विधिबाट गर्ने व्यवस्थाले लाभकर गणना विधिमा भएको अन्यौल हटेको छ ।' विज्ञप्तिमा भनिएको छ-'पूँजीगत लाभकरको दरमा प्रोत्साहन स्वरुप गरिएको कटौतिले आम लगानीकर्ताहरु दोश्रो बजारप्रति थप आकर्षित भई पूँजीबजारमार्फत राष्ट्र निर्माणका लागि छरिएको रहेको पूँजीको संकलन तथा परिचालन हुने वातावरण बन्ने विश्वास लिएका छौ ।' 

एशोसिएसनले निश्चित रकमभन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुको स्थायी लेखानम्बरसहितको विवरण नेप्से तथा सिडिएससीको राफसाफ प्रणालीमा नै आबद्ध गरिने तथा लगानीकर्ताहरुको लागतको तथ्याङ्क प्रणालीले नै दिने व्यवस्थाले धितोपत्र कारोबारको पूँजी लाभकर संकलन तथा भुक्तानीमा सहजता आई धितोपत्र कारोबार थप पारदर्शी हुने दाबी गरेको छ । 

पूँजीबजारका अंगहरुको संस्थागत सुधार गरिने, ट्रष्टी ऐन तर्जुमा गरी सामूहिक लगानीकोष, सेयर अभौतिकीकरण र सिडिएससीका कार्यहरु व्यवस्थित गरिने व्यवस्थाले समग्र पूँजीबजार थप मजबुत र भरोसायोग्य बन्दै जाने ब्रोकरहरुको विश्लेषण छ ।