काठमाडौं। सेयर लगानीकर्ताले अब ब्रोकरमार्फत मार्जिन कारोबार गर्न पाउने बाटो खुला भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट बिहीबार केन्द्रीय निक्षेप सेवा नियमावली २०६८ को पाँचौँ संशोधन (२०७६) स्वीकृत भएसँगै लामो समयदेखि अड्किएको मार्जिन कारोबारको बाटो खुला भएको हो ।

नियमावलीको पाँचौँ संशोधन स्वीकृति भएसँगै अब सेयर लगानीकर्ताले सेयर कारोबारलाई सोझै ब्रोकरबाट ऋण पाउने भएका छन् । यो व्यवस्थाले सिडिएससिले मार्जिन कारोबार राफसाफ प्रयोजनका लािग हितग्राही खातासम्बन्धी व्यवस्था गरी धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफ सदस्यलाई जानकारी गराउनुपर्नेछ ।

मार्जिन कारोबार सुविधा सञ्चालनका लागि मार्जिन कारोबारको राफसाफसम्वन्धी व्यवस्था गर्न छुट्टै हितग्राही खाता आवश्यक पर्ने हुन्छ।

मार्जिन कारोबार सुविधा सञ्चालनमा आएसँगै धितोपत्र बजारको दायरा वृद्धि र कारोबारमा समेत विस्तार हुनेमा बोर्ड विश्वस्त छ । 

संशोधित नियमावलीअनुसार कम्तिमा १० हजार शेयरधनी भएका ब्रोकरलाई मात्र मार्जिन कारोबारको सुविधा उपलब्ध हुनेछ । त्यस्तै खुद सम्पत्ती चुक्ता पूँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांस वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रमा वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीमात्र मार्जिन कारोबार गर्न योग्य हुनेछन् ।

हालसम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउने अनुमति पाउनेमा क्रिष्टल कञ्चनजंघा सेक्युरिटीज प्रालि,सेक्युर्ड सेक्युरिटीज प्रालि,भिजन सेक्युरिटीज प्रालि,नेपाल स्टक हाउस प्रालि,श्रीकृष्ण सेक्युरिटीज लिमिटेड,प्राइमो सेक्युरिटीज प्रालि,कोहिनूर  इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालि,दीपशीखा धितोपत्र कारोबार कम्पनी प्रालि छन् । अन्य कम्तिमिा पनि पाइपलाइनमा छन् ।

तोकिएका कम्पनीको मार्जिन कारोबारका लागि १८० दिनको औषत बजारमूल्य वा अन्तिम बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशतले हुन आउने रकमका लागि लगानीकर्ताले माग गर्न सक्ने छन्। ब्रोकरले भने मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदा ग्राहकसँग सम्झौता गरी शुरु मार्जिन, सम्भार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरिद गर्ने शेयरको विवरणलगायतका शर्तहरु खुलाउनुपर्ने छ।

मार्जिन कारोबारका लागि कायम हुने व्याजदरलाई भने धितोपत्र बोर्डले आवश्यक परेमा हस्तक्षेप गर्ने भन्दै बजारलाई नै छाडिदिएको छ।

यसअघि गत असार १२ गते नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि,२०७५ मा तोकिएको मापदण्ड पूरा गरेका ८ सदस्य सेयर दलालमार्फत आफ्ना ग्राहकलाई सेयर खरिद गर्ने प्रयोजनका लागि ऋण स्वरुप रकम उपलब्ध गराउनसक्ने एक किसिमको अल्पकालीन कर्जाको व्यवस्था सुरुवात हुने घोषणा गरेको थियो ।