काठमाण्डौ । बढ्दो कोरोना महामारीको दोस्रो लहरको संक्रमणलाई न्यूनीकरण गर्नका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकरहरुलाई भौतिक आवागमन कम गर्नलगायत ७ बुँदे निर्देशन जारी गरेको छ।

नेप्सेले सोमबार सर्कुलर जारी गर्दै सदस्य दलाल तथा धितोपत्र व्यवसायी (ब्रोकर) ले नेप्सेसँग गर्नुपर्ने कामकारबाहीका लागि भौतिक उपस्थितिलाई सम्भव भएसम्म कम गर्न तथा नेप्सेमा पेस गर्नुपर्ने कागजातहरु यथासम्भव ई–मेलमार्फत अभौतिक रुपमा (पीडीएफ फाइल) पठाउन निर्देशन दिएको छ। सदस्य दलालहरुले पेस गर्नुपर्ने बैंक ग्यारेन्टी आफ्नो बैंकमार्फत ई–मेल ठाउन लगाउने र सोको जानकारी नेप्सेका ई–मेलहरु ‘account@nepalstock.com’ र ‘support@nepalstock.com’ दुवैमा अनिवार्य रुपमा पठाउनुपर्ने नेप्सले निर्देशन दिएको छ। 

यसैगरी संस्थापक सेयरको कारोबार गर्न गराउन सदस्य दलालले आवश्यक सम्पूर्ण कागजात संकलन गरिसकेपछि मात्र नेप्सेमा पेस गर्नुपर्ने निर्देशन दिइएको छ। सदस्यले नेप्सेबाट प्राप्त पत्रहरुको प्रत्युत्तर एवं सदस्यसँग सम्बन्धित अन्य कुनै पनि विवरण एवं जानकारी गराउँदा वा पत्राचार गर्दा ‘surveillance@nepalstock.com’ मा पठाउनुपर्नेछ। सदस्य दलालले कार्यालय सञ्चालन गर्दा कोरोना महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी (भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, ज्वारो नाप्ने, स्यानिटाइजरको प्रयोग गर्ने आदि) का सम्बन्धमा विश्व स्वास्थ्य संगठन, नेपाल सरकार तथा नेपाल धितोपत्र बोर्डले जारी गरेका निर्देशन तथा सिफारिसहरु कडाइका साथ पालना गर्न पनि नेप्सेले निर्देशन दिएको छ। 

सेयर खरिदबिक्रीपछि तोकिएको समायावधिभित्र लगानीकर्तालाई सेयर तथा रकम सहज ढंगले उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न पनि नेप्सेले निर्देशन दिएको छ। सदस्य दलालहरुले धितोपत्र कारोबारका सन्दर्भमा लगानीकर्ताहरुलाई अनलाइन प्रयोग गर्न प्रोत्साहन गर्न पनि निर्देशन दिइएको छ।