– अर्जुन तिमिल्सिना
काठमाण्डौ। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले ल्याउन लागेको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) निकै अत्याधुनिक रहने बताइएको छ।
एसोसिएसनका अध्यक्ष सन्तोष मैनालले आउँदो साउन १ गतेबाट सञ्चालन ल्याउन लागिएको ब्रोकरको आफ्नै टीएमएस हालको भन्दा निकै एड्भान्स हुने बताए। उनले यो टीएमएस मोबाइल एप्लिकेसनबाटै चलाउन मिल्ने जानकारी दिए। जब कि हालको टीएमएस मोबाइल एप्लिकेसनबाट चल्दैन।
यसैगरी ब्रोकरले ल्याउन लागेको टीएमएसमा लगानीकर्ताले आफ्नो पोर्टफोलियो लाइभ हेर्न सक्नेछन्। हालको टीएमएसमा यो सुविधा दिइएको छैन। लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियो हेर्न ‘मेरो सेयर’ पोर्टलमा जानुपर्छ।
नयाँ आउने टीएमएसमा लगानीकर्ता र ब्रोकरबीचको कारोबार हिसाबकिताब पनि प्रस्टसँग राखिएको हुनेछ। नयाँ टीएमएसमा नेप्सेमा सूचीकृत कम्पनीहरुका लाभांश इतिहाससँगै अन्य महत्वपूर्ण वित्तीय विवरण पनि राखिएको हुनेछ।
अध्यक्ष मैनालीका अनुसार अब ल्याइने टीएमएसमा भोलि खरिद गर्न चाहेको सेयरको अर्डर आजै पोस्ट गर्न सकिनेछ। ‘यो सुविधा दिइने भए पनि हालको नियमले रोकेको छ’, उनले भने, ‘यस विषयमा नियामक निकायले अनुमति दिए, यो सुविधा लगानीकर्ताले पाउनेछन्।’
मैनालीले नयाँ टीएमएसमा इन्ट्रा डे कारोबारको सुविधा पनि रहेको सुनाए। यो टीएमएसमा स्टक मार्केटसँगै बोन्ड तथा डेरिभेटिभको पनि कारोबार गर्न सकिने मैनालीले जानकारी दिए।
यो टीएमएस सञ्चालनमा आएपछि कारोबार राफसाफको कुनै गुनासो नरहने मैनालीले दाबी गरे। ‘अहिले ब्रोकरहरुले भोग्दै आएको जोखिम व्यवस्थापन पनि यो टीएमएस सञ्चालनमा आएपछि हुनेछ’, उनले भने।
यो टीएमएस १० वटाभन्दा बढी देशहरुमा प्रयोग भइरहेकोले नेपालमा पनि सफल हुने मैनालीको भनाइ छ।
ब्रोकरहरुले सञ्चालनमा ल्याउन लागेको टीएमएस नेपालमा क्याप टेक कम्पनीमार्फत सञ्चालन हुनेछ। यो कम्पनी ब्रोकरहरुले नै सञ्चालनमा ल्याएका हुन्।
त्रिशक्ति सेक्युरिटिजका सञ्चालक टंक गौतमले अब आउने टीएमएसमा एपीआई र नट्समा कनेक्टको सुविधा पाउनुपर्ने माग गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago