– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा हिजोआज आगामी साउनबाट ब्रोकरहरु आफैँले ल्याउने भनेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) का विषयमा निकै चर्चा चल्न थालेको छ। समय जति नजिकिँदैछ त्यति नै लगानीकर्तामा नयाँ टीएमएसका विषयमा शंका–उपशंका उत्पन्न हुन थालेको छ। कतिपयले ब्रोकरले ल्याउने भनेको टीएमएस आउने सम्भावना निकै कम रहेको बताउन थालेका छन्। ‘ब्रोकर र नियामक नै टीएमएस ल्याउने विषयमा टुंगोमा पुग्न सकेका छैनन्’, उनीहरु भन्छन्, ‘टीएमएसको कथा पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ होलाजस्तो भइसक्यो।’

ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले विज्ञप्तिबाजी गर्दै आगामी साउन १ गतेबाट ब्रोकरहरु आफैँले नयाँ टीएमएस ल्याउने झ्याली पिटेको थियो। तर, हालसम्म नयाँ टीएमएसका विषयमा यथार्थ कुरा खुलेर कुनै पनि निकायबाट सार्वजनिक नहुँदा लगानीकर्ताहरु अन्यौलमा पर्दै आएका छन्। 

ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली भने नयाँ टीएमएस सञ्चालनका विषयमा आफूहरु पूर्ण तयारीमा रहेको बताउँछन्। ‘नियामकबाट एपीआई पोलिसी पास भएर आउनुअघिका सबै प्रक्रिया पूरा गरिसकेका छौँ’, मैनाली भन्छन्, ‘एपीआई पोलिसी पास भएर आएपछि नयाँ टीएमएस परीक्षणको प्रक्रिया अगाडि बढाउँछौँ।’

एपीआई पोलिसी पास भएर आएपछि सिस्टम परीक्षणलगायतका कार्य गर्न कम्तीमा पनि डेढ महिना लाग्ने मैनालीको भनाइ छ। यो हिसाबले अब नियामक नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले आजभोलि नै एपीई पोलिसी पास नगर्ने हो भने पनि ब्रोकरले ल्याउने भनेको टीएमएस साउन १ गतेबाटै पूर्ण रुपमा सञ्चालन आउने सम्भावना निकै कम रहेको देखिन्छ। 

अध्यक्ष मैनालीका अनुसार ब्रोकरले बाहिरबाट ल्याउने भनेको सिस्टम अत्याधुनिक रहेको छ। ‘यो सिस्टम परीक्षण गर्नुपर्छ कि पर्दैन, सीधै नोट्समा जोड्न अन्तिम स्वीकृति दिन मिल्छ कि मिल्दैन, त्यो नियामकले भन्ने कुरा हो’, उनले भने, ‘यदि सहजै रुपमा सबै कुरा मिल्दै गएमा साउनबाटै नयाँ टीएमएस सञ्चालनमा आउन सक्छ।’

नयाँ टीएमएस ल्याउन ठूलो रकम लाग्ने भएपछि ब्रोकरहरु पछि हटेको भन्ने चर्चा छ नि भन्ने बिजशालाको जिज्ञासा अध्यक्ष मैनालीले भने, ‘त्यस्तो होइन, हामी नयाँ टीएमएस ल्याउन जति पनि खर्च गर्न पनि तयार छौँ, पैसाभन्दा नीतिनियम र परीक्षणको अवस्थाले गर्दा अहिले ढिलाइ भइरहेको हो।’

केही समयअघि नेप्सेले ब्रोकर ल्याउने भनेको टीएमएसका लागि एपीआई पोलिसी तयार पारी धितोपत्र बोर्डमा पठाएको थियो। बोर्डले त्यसमा केही संशोधन गरी पठाउन भनेर पुनः नेप्सेमा फिर्ता पठाएको थियो। 

नेप्से प्रमुख चन्द्रसिंह साउदले बोर्डले भनेबमोजिम एपीआई पोलिसीमा संशोधन गरी पुनः बोर्डमै पठाइएको जानकारी दिए। ‘अब एक–दुई दिनमै बोर्डबाट एपीआई पोलिसी पास भएर आउँछ भन्ने हामीलाई जानकारी आएको छ’, साउदले भने, ‘तर एपीआई पोलिसी आए पनि नयाँ टीएमएस सञ्चालनका लागि अझै थुप्रै प्रक्रिया र परीक्षण गर्नुपर्ने भएकोले साउनबाटै ब्रोकरहरुले ल्याउने टीएमएस लगानीकर्ताहरुले चलाउन पाउने सम्भावना कमै छ।’