काठमाण्डौ । सेयर दलाल व्यवसायीहरूले सेयर लगानीकर्ताहरुको कारोबार खाताको पूर्ण विवरण नराख्दा ठूलो झमेला सिर्जना भएको रहस्य खुलेको छ । 

सेयर लगानीकर्ताहरुले दलालहरुकोमा सेयर खरिदबिक्री गर्ने प्रयोजनका निम्ति आवश्यक कारोबार खातामा लगानीकर्ताको आवश्यक सम्पूर्ण विवरण दलालको टीएमएस (ट्रेडिङ म्यानेजमेन्ट सिस्टम)मा लगानीकर्ताको विवरण तथा तथ्यांक नै गलत प्रविष्ट गरेका कारण दलाल व्यवसायीको कार्यालयमा बाक्लो भीड लाग्न थालेको छ। 

दलालहरुले आफ्नो ग्राहकको बीओआइडी र ट्रेडिङ अकाउन्ट् मेन्टेन गर्न नसकेकै कारण यस्ता समस्याहरु आइरहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताए । उनले भने-'हामीले स्वच्छ र पारदर्शी बजार बनाउन फोहोर फाल्न लाग्दा अहिले ब्रोकरहरु बाधक बनेका छन् ।' 

आफ्ना ग्राहकको केवाइसी अपडेट लकडाउनको समयमा दलालहरुले गरेको भइदिए आज यो समस्याले विकराल रूप नलिने उनको भनाइ छ। 

यता एक दलाल कम्पनीमा  कार्यरत कर्मचारीका अनुसार धेरै ग्राहक, तर सीमित कर्मचारीबाट काम गर्नुपर्ने र केवाइसी इण्ट्री गर्दा थुप्रै भूलचूक भएको छ । 

नियामक धितोपत्र बोर्डको मापदण्डअनुसार समेत दलाल व्यवसायीहरुले कर्मचारी संख्या नराख्ने र उपत्यकाबाहिरका शाखाबाट पनि १ २ जना कर्मचारीबाटै कार्यालय संचालन गर्नुपर्ने बाध्यता रहेको एक दलाल कम्पनीमा कार्यरत कर्मचारी बताउँछन् । 

नेप्से स्रोतअनुसार दलाल व्यवसायीहरु आफैं सेयर खरिदबिक्री गर्न हतारो हुने र आफ्ना ग्राहकको सेवामा भने चुकिरहेको गोप्य अनुसन्धानबाट पत्ता लागेको छ । बैध रुपमै दैनिक कारोबार रकममा आधा रकम दलालकै हुने बताइन्छ ।

दलालहरुकै अकर्मण्यता र लथालिङ्ग कामले हिजोआज लगानीकर्ताहरुले सास्ती भोग्दै आउनु परेको छ। कोभिड १९ को प्रकोपलाई ध्यानमा राख्दै सरकारले लागू गरेको सीमित संख्यामा मात्र उपस्थित हुन पाइने र सामाजिक दूरी कायम गर्नुपर्ने नियमको ब्रोकर अफिसहरुमा धज्जी नै उडिरहेको छ ।