– भक्तराज रसाइली

काठमाण्डौ । कारोबारीहरुलाई सेयर बिक्री गरेको रकम भुक्तानीमा ढिलाइ गर्नुका साथै ब्याज दिन पनि स्टक ब्रोकरहरुले आनाकानी गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उजुरीको चाङ थुप्रेको छ।

गत असार १५ गतेदेखि कार्यान्वयनमा आएको नयाँ व्यवस्थाका अनुसार सेयर किनबेचमा लगानीकर्ता र ब्रोकरबाट चौथो दिनमा रकम भुक्तानी गर्न असमर्थ रहे दुवैको समझदारीमा ब्याज निर्धारण गरी प्रतिफल बाँडफाँड गर्नुुपर्ने हुन्छ। नेप्सेका एक अधिकारीका अनुसार पछिल्ला समयमा स्टक ब्रोकरहरुले सेयर बिक्री गरेपछि लगानीकर्तालाई बिक्रीबापतको रकम भुक्तानीमा ढिलाइ गरेको र ब्याज दिनसमेत अटेर गरेपछि लगानीकर्ताहरुले नेप्सेमा गुनासो र उजुरी दिनेको संख्या ह्वात्तै बढेको हो।

सीधासोझा लगानीकर्ताहरुलाई विभिन्न वहानामा ब्रोकरहरुले सेयर बिक्री गरेपछि रकम भुक्तानी गर्न १५ दिनदेखि १ महिना धाउन दुःख दिइरहेका गुनासोहरु बढ्दै गइरहेको नेप्सेका अधिकारी जिकिर गर्छन्। नियमानुसार रकम भुक्तानी भए लगानीकर्ताहरुले निश्चित ब्याजदर प्रतिफल पाउने व्यवस्थालाई ब्रोकरहरुले नजरअन्दाज गरिरहेको ती अधिकारीको दाबी छ। 

केही ब्रोकरहरुको बदनियतका कारण सबै ब्रोकरहरुको बदनाम पनि भइरहेको छ। यसमा लगानीकर्ताहरुले समेत ब्रोकरलाई सेयर खरिदबापतको रकम भुक्तानीमा ढिलाइ भएको ती अधिकारी बताउँछन्। टी प्लस थ्रीमा सेयर किनेबापत रकम नउठे सेयर बेचेरै असुलउपर गर्ने व्यवस्था पनि ब्रोकरहरुले अवलम्बन नगर्दा गलत अभ्यास बढिरहेको ती अधिकारीको ठम्याइ छ। 

स्टक ब्रोकरहरुको कार्यालयमा गई स्थलगत परीक्षण गर्दा कुनै पनि ब्रोकर कम्पनीले गरेको सेयर कारोबारमा आधाजति रकम लगानीकर्ताबाट उठ्न बाँकी र आधाजति रकम भुक्तानी गर्न बाँकी रहेको स्रोतको भनाइ छ।

अनामनगरस्थित एक ब्रोकरका अनुसार सेयर किनेको दुई कार्यदिनपछि लगानीकर्ताहरु पैसा जोहो गर्ने अभ्यास नेपाली सेयर बजारमा विगतदेखि हुनु निकै दुःखदायी रहेको बताउँछन्।

नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट लगानीकर्ताहरुलाई ब्रोकरहरुबाट रकम भुक्तानीमा ढिलाइ भएको स्वीकारे। ब्रोकरहरुले विद्युतीय माध्यमद्वारा लगानीकर्ताहरुको खातामा रकम पठाउँदा बैंक खाता नमिल्ने र केवाईसी फर्म तथा बैंक खाता फरक पर्दासमेत भुक्तानीमा केही दिन ढिलाइ भएको हुनसक्ने उनको भनाइ छ। लगानीकर्ताबाट यकिन गरी बैंक खातामा रकम ट्रान्सफर गर्ने क्रम बढेसँगै अब एक डेढ महिनाभित्र यो समस्या हल हुने उनको दाबी छ।

स्रोतका अनुसार कतिपय लगानीकर्ताहरुलाई स्टक ब्रोकरहरुले नै विश्वास र समझदारीका आधारमा १० लाखदेखि १.५ करोड रुपैयाँ सम्म लिमिट(सेयर किन्न उधारो दिने व्यवस्था) दिने गरेका कारणसमेत सेयर खरिदबिक्रीको भुक्तानी उधारोमै हुने गरेको छ। लिमिट दिइसकेपछि कारोबार संख्या बढी कमिसन असुल्ने अभिलाषामा ब्रोकरहरुले जानाजान यो अभ्यास बढाइरहेका भेटिन्छन्। लिमिट लिएका लगानीकर्ताहरुलाई १ महिनासम्मको अवधिमा सेयर सेटलमेन्ट गर्ने अवधि छुट दिँदा गलत अभ्यास बढिरहेको छ नै यसबाट ब्रोकरहरुलाई वित्तीय जोखिम समेत बढाइरहेको देखिन्छ।

यसका लागि समाधान भनेकै भुक्तानीमा ढिलाई भएको खण्डमा ब्याज प्रतिफल बाँडफाँड गर्ने बताइन्छ।