– अर्जुन तिमिल्सिना

काठमाण्डौ । वार्षिक साधारणसभाको मिति टुंगो लागेसँगै ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालमा नयाँ आउने नेतृत्वका विषयमा चर्चा सुरु हुन थालेको छ। 

एसोसिएनले आगामी पुस २२ गते २८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। योसँगै एसोसिएसनमा नयाँ नेतृत्वको बहस र चर्चा पनि सुरु हुन थालेको हो।

एसोसिएसनको कार्यसमितिको कार्यकाल २ वर्षको हुन्छ। कार्यसमिति ११ जना सदस्यीय रहेको छ। हालको कार्यसमितिको कार्यकाल पुस २२ गतेदेखि समाप्त हुँदैछ।

केहीले हालकै अध्यक्ष सन्तोष मैनाली नै अझै थप एक कार्यकाल उपयुक्त हुने तर्क गरेका छन्। मैनाली भने अब नयाँ साथीहरुलाई जिम्मेवारी दिँदा उपयुक्त हुने बताउँछन्। मैनाली भन्छन्, ‘सबै साथीहरुले बजार बुझेकै छन्। समन्वय गर्न सक्ने जोकोही साथीलाई जिम्मेवारी दिनु उपयुक्त हुन्छ।’

एसोसियसनका पूर्वअध्यक्ष भरत रानाभाटले अहिलेकै कार्य समितिका महासचिव गुणनिधि भुसाल र उपाध्यक्ष धर्मराज सापकोटा पनि नयाँ नेतृत्वका लागि उपयुक्त रहेको बताए। रानाभाटले सके सर्वसम्मत नभए चुनावबाटै पनि नयाँ कार्यसमिति चयन हुन सक्ने प्रतिक्रिया दिए। 

रानाभाटले अहिलेको ११ सदस्यबाट ७ जनाको बनाउँदा कार्यसमिति चुस्त र दुरुस्त हुने तथा काम गर्न सहज हुने पनि सुझाव दिए। 

एसोसिएसनका उपाध्यक्ष सापकोटाले आफू हालको उपाध्यक्ष रहेको र प्राकृतिक रुपमा पनि उपाध्यक्ष भनेको अध्यक्षको प्रत्यासी हुने प्रतिक्रिया दिए। ‘नेतृत्व छनोटका विषय खासगरी साथीभाइबाटै टुंगिन उपयुक्त हुन्छ’, उनले भने, ‘यदि समन्वय र काम गर्न सक्ने अरु साथीहरु पनि अध्यक्ष बन्न इच्छुक हुनुहुन्छ भने मैले दाबी गर्ने छैन।’ 

एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले यो रेगुलेटरी बिजनेस भएकोले समन्वयको काम बढी हुने बताए। ‘त्यसैले नीति निर्माणका लागि  सुझबुझका साथ समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्छ’, उनले भने, ‘कार्यसमितिबाटै वा बाहिर जताबाट पनि नेतृत्वको दाबी हुन सक्छ।’ 

अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) का सञ्चालक अनन्त पौडेल एसोसिएसनमा पुरानै नेतृत्व दोहोरिने सम्भावना कमै रहेको बताउँछन्। ‘हालका महासचिव वा उपाध्यक्ष नै अध्यक्ष बन्न उपयुक्त हुन्छ’, उनले भने। 

पौडेल हालका उपाध्यक्ष धर्मराज सापकोटालाई अध्यक्षको जिम्मेवारी दिँदा उचित हुने बताए। ‘उनी महासचिव हुँदै हाल उपाध्यक्ष बनेका छन्’, उनले भने, ‘त्यसैले अब अध्यक्ष बन्ने पालो सापकोटाकै हो।’ 

उता भिजन सेक्युरिटिज (स्टक ब्रंोकर नं. ३४) का सञ्चालक राजकुमार तिमिल्सिना अबको अध्यक्ष सर्वसम्मतिबाट चयन गर्ने हो भने आफू पछि नहट्ने बताउँछन्। ‘मलाई केही साथीहरुले ४ महिनाअघिदेखि नै सहयोग गर्छौं भन्नुभएको छ’, उनले भने, ‘हेरौँ के हुन्छ ?’

ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ता भने ब्रोकर्स एसोसिएसनको अध्यक्षको जिम्मेवार थप एक कार्यकालका लागि सन्तोष मैनालीलाई दिँदा उपयुक्त हुने बताउँछन्। ‘शान्त स्वभावका मैनाली नै पुनः दोहोरिँदा उपयुक्त हुन्छ होला’, लगानीकर्ता टंक पोखरलले भने, ‘उनकै नेतृत्वमा थुप्रै काम भएका छन् र भइरहेका छन्। बाँकी काम पूरा गर्न पनि उनलाई नै अध्यक्ष जिम्मेवार दिनु उचित हुन्छ।’