-भक्तराज रसाइली
काठमाण्डौ । नेपालको पूँजी बजारको नियमन गर्ने निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्ड(सेबोन)ले बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले ३ महिनाअघि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमार्फत लगानीकर्ता तथा ब्रोकरको गोप्य सूचना तथा जानकारी लिक भएको बिषयमा अनभिज्ञता जाहेर गरेको छ ।

नेप्सेको नयाँ स्वचालित अनलाइन ट्रेडिङ्ग सिस्टम(नट्स)बाट ३ महिनासम्म अति गोप्य सूचना चूहावटका विषयमा केही दिनअघि बिजशालाले एक्सक्लुसिभ रिपोर्ट प्रकाशित गरिसकेको छ । 

यसैको फलोअपमा आज सेबोनमा सो सूचना चूहावट बारे बुझ्ने प्रयास गर्दा सेबोनका प्रवक्ता निरज गिरीले आफूलाई यस विषयमा जानकारी नभएको र आजका मितिसम्म पनि बोर्डमा छलफल नभएको दाबी गरे । 

बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीसँग भेटेर बोर्डले के कदम चाल्यो भनेर बुझ्न खोज्दा त्यहाँस्थित सचिवालयमार्फत भेट्न नभ्याउने भन्दै खबर पठाई तर्किए ।

समग्र पूँजी बजारको नियमनको यस किसिमको उदासीनता र सम्बन्धित मातहतका गम्भीर विषयमा बोर्ड मौन रहनुले चलखेलमा बोर्डको संलग्नताको आशंकालाई समेत झनै बलियो बनाइदिने अवस्था सिर्जना भएको छ । 

पछिल्लो समय निकै विवादमा मुछिएका अध्यक्ष कार्कीले आफू अनुकूल फाइदा र सनकमा पूँजी बजार हाँकिरहेका अधिकांश ब्रोकरहरुको आरोप छ । 
नेप्सेले डाटा लिक गर्नु गम्भीर भूल रहेको बोर्ड र सिडिएससीस्थित उच्च अधिकारीले समेत स्वीकारिरहँदा बोर्डले त्यसप्रति कुनै गाम्भीर्यता नदेखाउनु र कठोर कदम नचाल्नुमा आम लगानीकर्ताहरुको हकहितका लागि बोर्ड गैरजिम्मेवार रहेको प्रमाणित हुने एक बजार जानकार बताउँछन् ।

नेप्सेले ल्याएको थोत्रो रेलजस्तै टालटुले अनलाइनको भद्रगोलका कारण व्यवसाय चलाउन नसक्ने अवस्था आएको र अवस्था निकै जटील रहेकोले अब पनि बजार सुधार नभए ब्रोकरको साँचो नेप्सेलाई बुझाइने भन्दै एक ब्रोकरले आक्रोश पोखेका छन् । 

अघिल्लो साता नेप्सेका उच्च अधिकारी र ब्रोकरहरुबीच निकै चर्काचर्की समेत भएको थियो । त्यहाँ छलफलमा बसेका निरञ्जन फुँयालले समेत डाटा लिक भएकोमा यो नेप्सेको अक्षम्य भूल रहेको र निकै गम्भीर हुनपर्ने मत सो छलफलमा जाहेर गरेको स्रोतको दाबी समेत छ ।

यता, पूँजी बजारको विकास र  विस्तार भन्दा पनि आफ्नो विकासमा केन्द्रीत रहने व्यक्तिको हातमा बजारको साँचो रहुञ्जेल पूँजी बजारले लय नसमात्ने र भ्रष्टहरुको चङ्गुल र जालोमा परिरहने सेयर बजार विज्ञ डा. मनोहरकृष्ण श्रेष्ठको टिप्पणी छ । 

अर्थविद् खगेन्द्र कटुवालले सेबोन पूँजीबजार ध्वस्त पार्न उद्यत रहेको आरोप समेत लगाएका छन् ।

नन् ट्रेडेबल संस्थापक सेयर खरिदबिक्री भइरहनु, सानिमा बैंकले अनुमति नै नपाई ब्रोकरेज सेवाको विज्ञापन गर्नु, धरानस्थित ब्रोकर नम्बर १७ एबीसी सेक्युरिटिजले लगानीकर्ताहरुको सेयर डिम्याट बन्धक बनाउनेलाई हालसम्म कारबाही नहुनु, मञ्जुश्री फाइनान्सलाई कार्वाही हालसम्म नगरिनु, दोस्रो बजारको विकास र विस्तारमा कुनै अग्रसरता र सेयर बजारमा नयाँ प्रडक्ट लञ्च गर्न निरुत्साहित गर्नु, नेप्से र ब्रोकरहरुलाई असान्दर्भिक हस्तक्षेप गर्ने परिपाटी लगायत विविध विषयमा बोर्डका अध्यक्षको मनोमानी र सनकले पूँजी बजार थप ४० वर्ष पछाडि धकेलिने अवस्थामा पुगेको एक विश्लेषकको दाबी छ । 

बोर्डमाथि लागेका यी आरोपहरुको बिषयमा प्रतिक्रिया लिन खोज्दा समेत त्यहाँका कुनै पनि अधिकारी बोल्न तयार भएनन् ।