काठमाण्डौ । शिवम सिमेन्टको सेयर मूल्य बढाउन तीव्र चलखेल भइरहेको छ । यही क्रममा ब्रोकर नम्बर ५८ मार्फत यो कम्पनीको सेयर कर्नरिङको काम पनि तीव्र बनेको अर्को तथ्य भेटिएको छ ।
यो ब्रोकरमार्फत शिवम सिमेन्टको तेश्रो त्रैमासको वित्तीय विवरण निकै राम्रो आउँदैछ भन्ने हल्ला बजारमा व्यापक बनाइएको थियो । हल्ला गरिएजस्तो यो कम्पनीको तेश्रो त्रैमासिक विवरण चमात्कारिक आएन, सन्तोषजनक चाहि रह्यो ।
तेश्रो त्रैमासको वित्तीय विवरण आउनुअघिदेखि नै यो ब्रोकर कम्पनीले सेयर कर्नरिङ गर्ने, खरीद चाप निकै धेरै सिर्जना गरी मूल्य बढाउने खेल खेल्दै आएको देखिएको छ ।
शिवमको सेयर मूल्य बढ्न थालेको दिनदेखिको प्रत्येक दिनको फ्लोरसिट अध्ययन गर्दा ब्रोकर नम्बर ५८ को यो खेल सहजै बुझ्न सकिन्छ ।
ब्रोकर नम्बर ५८ का एक लगानीकर्ता(जो सेयर बजारका खेलाडी समेत हुन्), शिवम सिमेन्टको संचालकको रुपमा नियुक्त आफन्तको नेक्सस प्रयोग गरेर शिवमको सेयर मूल्यमा लामो समय राम्रैसँग खेलेको देखिन्छ ।
ब्रोकर नम्बर ५८ ले अन्य एकदुई ब्रोकरसँग मिलेर सामाजिक सञ्जाल, ब्रोकरेज हाउसहरु र समग्र बजारमै भाडाका मान्छे समेत परिचालन गरेर शिवमको विषयमा ह्वीम फैलाएको समेत स्वयम् लगानीकर्ताहरुले बताइरहेका छन् । यसले समेत ५८ नम्बर ब्रोकरमार्फत राम्रैसँग शिवमको मूल्यमा खेल्ने काम भइरहेको बुझ्न सकिन्छ ।
बिजशालाले ब्रोकर नम्बर ५८, नाशा सेक्युरिटिजको यो खेल र त्यहाँका संचालकको शिवम सिमेन्टका संचालकसम्मको पहुँचको समाचार हालेको भोलिपल्ट, बुधबार शिवमको सेयर कर्नरिङमा यो ब्रोकर केही संयम देखिएको थियो । यो ब्रोकर संयम बन्दा सो दिन शिवमको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो । समाचार आएकै बेला धेरै सेयर उठाएर कर्नरिङ गर्दा छानबिनमा परिने डरले संयमित जस्तो देखिएको यो ब्रोकर बिहीबार फेरि आक्रामक बन्दा शिवमको मूल्यमा उछालको अवस्था आयो । बिहीबार कम्पनीको मूल्यमा उछाल ल्याउनुमा मुख्यतः यही ब्रोकरको हात देखिन्छ ।
प्रत्येक दिनजसो यो ब्रोकरमार्फत भइरहेको खेलको पछिल्लो रुप र प्रवृति बिहीबारको कारोबारले समेत प्रतिनिधित्व गर्दछ । जहाँ शिवम सिमेन्टको सेयर यो ब्रोकरमार्फत आक्रामक रुपमा उठाएको पाइएको छ ।
बिहीबारको फ्लोरसिटका आधारमा शिवम सिमेन्टको सेयर खरीद भएका ब्रोकरहरुको विवरण ।
............................................................
कुल खरीद भएको कित्तामध्ये करिब ३५ प्रतिशत सेयर ब्रोकर नम्बर ५८ एक्लैले खरीद गरी कर्नरिङ गरेको देखिन्छ । यो ब्रोकरले ८५ हजार ५३४ कित्ता शिवमको सेयर खरीद गरेको हो । कुल ४ करोड ६९ लाख ९३ हजार ९७९ रुपैयाँ बराबरको शिवमको सेयर ५८ नम्बरको ब्रोकर एक्लैमार्फत खरीद भएको देखिन्छ ।
यो साताकै अवस्था हेर्दा समेत शिवमको सेयर मूल्य बढाउने उद्देश्यले तीव्र कर्नरिङ भएको समेत देखिन्छ । साताको ५ करोबार दिन उत्पादन तथा प्रशोधन समूहले कुल ५४ करोड ३ लाख कारोबार गरेकोमा शिवम एक्लैले मात्र ५३ करोड ११ लाख रुपैयाँको कारोबार गरेको छ ।
बैशाख २३ गतेदेखि नै यो ब्रोकरले शिवमको सेयरमा चलखेल गरेको देखिन्छ । यो दिन निकै ठूलो मात्रामा शिवमको सेयर यही ब्रोकरमार्फत खरीद भएको छ । यो एकदिन १३७ वटा कारोबारमार्फत सेयर खरीद भएको छ ।
शिवम सिमेन्टको सेयर मूल्य बैशाख २५ गतेदेखि अझ बढी उछालको गतिमा बढ्न थालेको थियो । सो क्रममा बजार खुलेको प्रत्येक दिन ब्रोकर नम्बर ५८ मार्फत शिवमको ठूलो परिमाणको सेयर उठाइएको छ ।
सो दिन यो ब्रोकरमार्फत शिवमको सेयर १३९ वटा स्क्रीप्टमार्फत खरीद भएको देखिन्छ । यस्तै, बैशाख २६ गते केही ४७ वटा कारोबारबाट मात्र सेयर खरीद भएको छ ।
बैशाख २९ गते अझ कम १० वटा, ३० गते १२७ वटा, ३१ गते ५७ वटा, जेठ १ गते ५२ वटा र जेठ २ गते बिहीबार ३९० वटा कारोबारमार्फत शिवमको ठूलो परिमाणको सेयर ५८ मार्फत खरीद भएको छ ।
त्यसभन्दा अघिको अवस्था के थियो ?
बैशाख २३ गते भन्दा अगाडिका दिनमा ब्रोकर नम्बर ५८ मार्फत शिवम सिमेन्टको सेयर खासै धेरै खरीद गरेको देखिन्न ।
बैशाख २२ गते आइतबार ३७ वटा, १९ गते ३६ वटा, १७ गते ४ वटा, १६ गते ११ वटा, १५ गते ४ वटा कारोबारबाट यो ब्रोकरमार्फत सेयर किनेको देखिन्छ ।
तेश्रो त्रैमासको वित्तीय विवरण बन्न सो कम्पनीमा तयारी हुनुअघिसम्म यो ब्रोकरको शिवममा कुनै चासो नहुनु, तर त्रैमासको रिपोर्ट बनाउने क्रम सुरु भएसँगै त्यो सूचना लिक भएपछि चासो दिएर भकाभक शिवमकै सेयर उठाउनतर्फ लाग्नु र लगानीकर्तालाई त्यस्तो सल्लाह दिनुले समेत सेयर मूल्यमा कुन हदसम्मको खेल भयो भन्ने कुरा बुझ्न सकिन्छ ।
यस्तो बेलामा लगानीकर्ताले हल्लाको पछि लाग्नु हुँदैन । हामीले भेटेका तथ्य प्रस्तुत गरिदिएका हौ, तपाई आफैंले पनि यो विषय खोज्न सक्नुहुन्छ । हाम्रो उद्देश्य कुनै पनि साना र कम ज्ञान भएका लगानीकर्ता ठूला लगानीकर्ताको सेयर कर्नरिङको खेलमा नफसून भन्ने हो । कुनै पनि सेयरको खरीद वा बिक्रीको निर्णय तपाईको निर्णय हो, त्यसमा तपाई स्वतन्त्र हुनुहुन्छ, तर यो काम गर्दा बुद्धिमता चाहि अपनाउन आवश्यक छ । आधारबिना देखाइने सपना देख्दै हिँड्न थालियो भने त्यसले दुर्घटना निम्त्याउन सक्छ ।
के हो सेयर कर्नरिङ ?
पुँजी बजारमा कारोबार हुने कम्पनीको सेयर कुनै संस्था वा समुहले खरिद गरी नियन्त्रणमा लिने र समूहभित्र नै रहने गरी कारोबार गर्ने र आफूअनुकुल सेयरमूल्य बढाउने प्रचलन नै कर्नरिङ हो ।
अधिकांश सेयर आफ्नै समूहसँग राखेपछि बढी मूल्यमा बिक्री गर्न सकिने भएकाले यसबाट नयाँ लगानीकर्ता फस्ने सम्भावना बढी हुन्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19