भक्तराज रसाइली
काठमाण्डौ । बिजशालाको नियमित स्तम्भ ग्राउण्ड जीरो स्तम्भका लागि यो साता न्यूप्लाजामा रहेका ५ विभिन्न ब्रोकरहाउसमा हामीले सेयर कारोबारमा सक्रिय लगानीकर्ताका गन्थनमन्थनलाई जस्ताको तस्तै पस्केका छौं।

धितोपत्रको दोस्रो बजारमा हुने साताको पहिलो दिन आज आइतबार कारोबार अवधिभर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लगानीकर्ताहरुको विशेष चासो थियो भने एसटीसी(साल्ट ट्रेडिङ कर्पोरेशन)को सेयरमूल्य एकैदिन १७५ रुपैयाँ बढेर प्रतिकित्ता १९२९ रुपैयाँसम्म पुग्यो ।

कारोबार समयको पहिलो प्रहर ११ बजे हामी न्यूप्लाजामा रहेको स्टक ब्रोकर नम्बर २६ एशियन सेक्युरिटीजमा पुग्दा ब्रोकर हाउसका कर्मचारीहरु व्यस्त भएपनि डिस्प्ले कक्षमा भने कोही उपस्थित थिएनन् । सवा एघार बजेतिर भने एकाध लगानीकर्ता डिस्प्ले रुममा आइपुग्छन् । एक लगानीकर्ताले नेप्सेमा सूचीकृत शिवम्को सेयरमा १ सय रुपैयाँ पछिल्ला अवधिमा बढाइएको बताए । इन्स्योरेन्स सेक्टर भने बढ्न नसकेकोमा ती लगानीकर्ता निकै खिन्न देखिन्थे । आज नेपाल बैंक लिमिटेडको बोनस सेयर पश्चात सेयरमूल्य समायोजन भएपछि  बिक्रीचापले निरन्तर घटिरहेको त्यहाँ उपस्थित अर्का लगानीकर्ताले दाबी गरे । लगानीकर्ता आउने क्रम जारी रहन्छ । घडीको सुईले ११ बजेर ३० मिनेट हानिसकेको थियो । यत्तिकैमा एक लगानीकर्ताले आधा घण्टामा कारोबार रकम धेरै भएको भन्दै खुशी माने । हामीले डिस्प्लेमा हेर्दा त्यतिबेला ५ करोड रुपैयाँको सेयर कारोबार भइसकेको थियो । ‘नेपाल लाइफको बढ्यो,सबै खाए’,  एक लगानीकर्ताले आश्चर्यमान्दै एक कुनाबाट बोले । यत्तिकैमा अर्का लगानीकर्ताले सूचना ट्वाइलेटबाट लिक भयो होला नि भन्दै हस्यौली वातावरणमा परिणत गरे । सूचीकृत कम्पनीका लाभांश प्रस्ताव कम्प्नीकै सञ्चालकहरुबाट प्रस्ताव पारित भइसकेपछि मोबाइलबाट ब्रोकर र आफ्ना नातेदार साथीभाइलाई महत्वपूर्ण सूचना चुहाउने परिपाटीप्रति ती लगानीकर्ताको व्यङग्य थियो । ‘रसुवागढी र सानजेन जलविद्युतको सेयर भने हाइहाइ भएन’,एक लगानीकर्ताले  चिन्तित हुँदै भने । ‘त्यसको पनि एकदिन पालो आउँछ’,अर्का लगानीकर्ताले ढाढस दिन पुग्छन् । कुराकानीले बढावा पाउँदै थियो ,यत्तिकैमा एक लगानीकर्ताले भने,‘एचडीएलको बूक क्लोजपछि पनि मूल्य उकालो लाग्यो नि’ । ‘जाडोमा रक्सी त बढ्छ नि’,हस्यौली पारामा अर्का लगानीकर्ताले जवाफ दिए । 

यसैबीच हामी न्यूप्लाजामै रहेको स्टक ब्रोकर नम्बर ९ दिव्या सेक्युरिटीजमा गयौं । त्यहाँ रहेका लगानीकर्ताहरुले आज धेरै कम्पनीका बूक क्लोज आज भएकालेसमेत बजार नबढको तर्क पेसिरहेका थिए । भोलि पनि धेरै कप्पनीका बूक क्लोज भएकाले बजार नबढ्ने उनीहरुले दाबीसमेत गर्न भ्याए । ‘कृषि विकास बैंक ऋण असूलीमा निजीस्तरका बैंकभन्दा निकै कडा रुपमा प्रस्तुत हुन्छ’,एक लगानीकर्ताले भने,‘नेपाल बैंकको गैह्र बैंकिङ सम्पत्तिमा बढी लगानी रहेको छ ।’ सम्पत्तिकै हिसाबमा भने नेपाल बैंकपछि कृषि विकास बैंककै रहेको ती लगानीकर्ताले जिकिर गरे । यत्तिकैमा एक लगानीकर्ताले बजार घटेपनि १५ अंक तल नजाने तर्क राखे । ‘४-५ वटा मात्रै बलिया कम्पनी किन्नुपर्ने रहेछ,अनि मजाले पैसा कमाउन सकिन्छ जस्तो लाग्यो’,अर्का लगानीकर्ताले सुनाए ।

ब्रोकर हाउस चाहर्ने सिलसिलामा हामी स्टक ब्रोकर नम्बर ५० क्रिष्टल कंचनजंघा सेक्युरिटीजमा पस्यौं । हामी कारोबार कक्षमा जाँदा लगानीकर्ताको बाक्लो उपस्थिति देखिन्थ्यो । ‘एसटीसीमा सोझा फस्ने भए, १९ सय नै पुग्यो, एक लगानीकर्ता चिन्तित हँुदै बोले । प्राइम बैंक र नेपाल लाइफको आज उच्च कारोबार हुने भन्दै अर्का लगानीकर्ताले लख काटे । यत्तिकैमा अर्की महिला लगानीकर्ताले पुस महिना बजार घट्नै भन्दै जिकिर गरिन् । केही क्षणपछि अर्का लगानीकर्ताले बजार त अन्ततः बढ्नै नै हो  दाबी गर्दै बलियो मनोबल र आत्मविश्वास देखाए ।

यही क्रममा हामी स्टक ब्रोकर नम्बर २९ त्रिशुल सेक्युरिटीज पुग्दा बाक्लै लगानीकर्ताको बलियो उपस्थिति देखियो । एक कुनामा राजनीतिक गफ त बीचतिर ग्यास हिटर तापेर डिस्प्लेतर्फ आँखा डुलाइरहेका देखिन्थे । निकै जाडोमा हिटर ताप्दै गरेका एक लगानीकर्ताले शिवम चल्नै छोडेपछि खेलाडी ब्याक हटेको दाबी गरे ।

कारोबार समय सकिन आधा घण्टामात्र बाँकी हँुदा हामी ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युरिटीज पनि उक्लियौं । यहाँ रहेको ठूलो कोठामा बाक्लै लगानीकर्ताहरु गफगाफमा नै व्यस्त देखिन्थे । हामी पछाडि बसेर कुराकानी सुन्दै थियौं भने तस्वीर समेत लिदै थियौं । धेरै लगानीकर्ताहरु आपसमा गरेको  गफ सुन्न असमर्थ भएकाले हामी बीचतिर लाग्यौं । यसैबीच एक लगानीकर्ताले एसटीसी किन बढेको भन्दै टाइसूटधारी अर्का लगानीकर्तामाथि जिज्ञासा तेर्सादिए । अर्का लगानीकर्ता भने सेयर सप्लाई कम भएको जवाफ दिन्छन् । अर्का लगानीकर्ता भने आज नेपाल लाइफ बढेकाले भोलि किन्ने निर्णय उनका साथीलाई सुनाउँछन् ।