काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा दैनिक कारोबार रकम ४ अर्ब नाघ्न थालेपछि लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउनुपर्ने मागलाई अभियानको रुपमा अगाडि बढाएका छन् । 

हाल ब्रोकर कमिसनको रुपमा न्यूनतम ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म सेयर खरिदबिक्रीबापत लगानीकर्ताहरुले तिर्दै आइरहेका छन् ।

सेयर कारोबार गर्दा हाल ५० हजारसम्म ०.६० प्रतिशत, ५० हजारभन्दा माथि ५ लाखसम्म ०.५५ प्रतिशत र ५ लाखदेखि २० लाखसम्म कारोबारमा ०.५० प्रतिशतसम्म लगानीकर्ताले कमिसन तिर्नुपर्दछ । 

यसैगरी, २० लाखदेखि १ करोडसम्म ०.४५ प्रतिशत र १ करोडभन्दा माथिको कारोबार गर्दा ०.४० प्रतिशत लगानीकर्ताहरुले ब्रोकरहरुलाई कमिसन तिर्दै आएका छन् । यो ब्रोकर कमिसनमध्ये नेप्सेले २० प्रतिशत र नेपाल धितोपत्र बोर्डले ०.६० प्रतिशत लैजान्छ ।

ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुले नेपालमा रहेको ब्रोकर कमिसन धेरै भएको भन्दै घटाउनुपर्ने माग गरेका छन् । 

लगानीकर्ता तुलसीप्रसाद कोइरालाले बढ्दो बजारमा ब्रोकरले मात्र कमाएका उल्लेख गर्दै भनेका छन्–‘ब्रोकरले मात्र कमाएर भएन अब पब्लिकले पनि कमाउनुपर्छ । हाल कायम ब्रोकर कमिसनमा ५० प्रतिशत कटौति गरिनुपर्छ ।’

सेयर कारोबारी सर्वेस कोइरालाले कारोबार रकम बढिरहेकाले कमिसन कम गर्दा ब्रोकरहरु सस्टेन हुने अवस्थामा पुगेका उल्लेख गर्दै ५० प्रतिशत कमिसन घटाउनुपर्ने माग गरे ।

अर्का कारोबारी रविकान्त खेतानले हाल लगानीकर्ता र ब्रोकरबीच तालमेल नमिलेको उल्लेख गर्दै भने–‘हामी त सर्टटम कारोबारी भएकाले फ्रिक्वेन्टली सेयर कारोबार गरिरहेका नै हुन्छौं । सेयर कारोबारीलाई अहिलेको ब्रोकर कमिशन धेरै महङ्गो भयो । ब्रोकर कमिसन ०.२५ प्रतिशत बनाउन जोडदार माग गर्दछु ।’

लगानीकर्ता दुर्गाप्रसाद गौतमले कारोबार वृद्धि भएकाले ब्रोकर कमिसन पनि अचाक्ली बढेको र हाल कायम कमिसन संसोधन भए लगानीकर्तालाई राहात हुने बताए । ‘दैनिक कारोबार रकमले रेकर्ड तोडिरहेका कारण अब निशर्त ५० प्रतिशत कमिसन घटाउनुपर्छ ।’ उनले थपे ।

लगानीकर्ता सजना भट्ट पाण्डेले पनि ब्रोकर कमिसन ५० प्रतिशत कम गराइनुपर्ने उल्लेख गर्दै यसमा धितोपत्र बोर्डले ध्यान दिनुपर्ने बताइन् ।

कारोबारी दीपक तिमल्सिनाले बजारको दिगो विकासका लागि ब्रोकर कमिसन घटाउने उपयुक्त समय आएको उल्लेख गर्दै भने–‘कारोबार रकममा भएको वृद्धिसँगै स्वभाविक रुपमै बोर्डले ब्रोकर कमिशन निशर्त घटाउन जरुरी छ । ब्रोकर कमिसन आधा घटाइए सेयर कारोबारीले अझ बढी कारोबार गरी कारोबार रकमसमेत १० अर्ब नाघ्ने छ । अहिले चाहिँ केबल ब्रोकरहरुलाई मात्र पोस्ने काम भइरहेको छ । कमिशन रकम ५० प्रतिशत घटाउन अति आवश्यक छ ।’

ब्रोकर कमिशन घटाउन लगानीकर्ताहरुको दवाब दिनानुदिन बढिरहेको छ ।स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाटले कमिशन घट्नुपर्ने माग आउनसक्ने कुरामा जानकार भएको उल्लेख गर्दै एक हप्ताको मात्र कारोबार रकमलाई हेरेर कमिशन घटाउने माग गर्न नहुने बताए । ‘सबै ब्रोकरहरुको औसत कारोबारबाट सस्टेन हुने कि नहुने विषयमा पनि गम्भीर हुन जरुरी छ।’उनले भने–‘कारोबार बढेपछि हामी आफैं घटाउँदैछौं ।’ 
ब्रोकर कमिशन घटाउने विषय नीतिगत कुरा भएको जिकिर गर्दै ह्वीममा लागेर कमिशन घटाउन नहुने उनको भनाइ छ । कमिशन घटाउने विषय छलफलको विषय भने बनाउन सकिने उनको भनाई छ । 

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले यसअघि ब्रोकर कमिसन घटाउँदा आफूहरुले नेप्सेको अनलाइन प्रणाली आएपछि कारोबार रकम बढ्ने र त्यसबेला पुनः ब्रोकर कमिसन घटाइने भनिसकेको र अब कारोबार रकम पनि बढिरहेकोले यो विषयमा पुनविर्चार हुने प्रष्ट पारे । ब्रोकर कमिसन घटाउने कुरामा हामी सकारात्मक छौ ।''-उनले थपे । 

 

धितोपत्र दोस्रो बजार सञ्चालक नेप्से भने ब्रोकर कमिशन घटाउन नहुने जिकिर गर्छ । दोस्रो बजारमा थप नयाँ औजारहरुको विकास गर्न लगानी आवश्यक रहेको कारण जनाउँदै नेप्से प्रवक्ता मुराहरि पराजुली बजार विकास तथा विस्तारका लागि खर्च आवश्यक पर्ने हुनाले कमिशन घटाउन नहुने दाबी गर्छन् ।