काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले हाल ५० वटामा सीमित सेयर ब्रोकरको संख्या बढाएर १०० पुर्याउने तयारी थालेको छ।

दोश्रो बजारको विकास र बिस्तारका लागि नेप्सेले हाल कायम ५० ब्रोकरहरुमा अन्य ५० ब्रोकर कम्पनीलाई थप लाइसेन्स दिने गरी तयारीलाई अगाडि बढाएको हो । 

नेप्सेस्थित विशेष स्रोतका अनुसार नेप्से व्यवस्थापन र संचालक समितिबीच ब्रोकरको संख्या बढाएर ५० बाट १०० पुर्याउने विषयमा औपचारिक निर्णय भइसकेको छ । ब्रोकरको संख्या बढाउने विषयमा बजारको नियामक धितोपत्र बोर्डको सहमति आवश्यक भएकोले निकट भविष्यमै बोर्डमा यो विषयमा सिफारिस गरिने समेत स्रोतले जनाएको छ । 

नेप्सेले यो विषयमा लगभग ब्रोकर संख्या थपेर १०० पुर्याउनुपर्छ भन्ने धारणा बनाइसकेको छ । 'हामीले थुप्रै छलफल गरी यो विषयमा सहमत भई बदलिँदो परिवेशअनुसार ब्रोकर संख्या बढाएर १०० पुर्याउनुपर्ने निश्कर्षमा पुगिसकेका छौ ।' स्रोतले भन्यो-'बोर्डका अधिकारीहरु समेत यो विषयमा सकारात्मक हुनुहुन्छ भन्ने लागेको छ । उहाँहरुसँग पनि यो विषयमा अनौपचारिक छलफल अगाडि बढिसकेको छ ।' 

नेप्सेले ब्रोकर संख्या थपेर ५० बाट १०० पुर्याउने कारण, आधार र सान्दर्भिकता पुष्टि हुने हिसाबले धितोपत्र बोर्डमा लेखेर पठाउनेछ । धितोपत्र बोर्डले नेप्सेको सिफारिसलाई अध्ययन गरी थप ब्रोकर लाइसेन्स जारी गर्ने या नगर्ने निर्णय लिने स्रोत बताउँछ । 

बोर्डस्थित स्रोतले समेत नेप्सेको प्रस्तावको विषयमा औपचारिक पुष्टि गरेको छ । 'नेप्सेसँग अनौपचारिक कुराकानी भएका छन्, हामीले नै लिखित रुपमा पठाउन भनेका छौ ।' बोर्डस्थित उच्च स्रोतले भन्यो-'नेप्सेबाट लेखी आएपछि यो विषयमा निर्णय हुनेछ ।' 

नेप्से तथा बोर्डका अधिकारीहरुले थप नयाँ लाइसेन्स रोक्न तथा जारी गर्नुपर्ने अवस्था भए पनि वितरणमा चलखेल हुनसक्ने, दवाब आउनसक्ने भन्दै यो विषय निश्कर्षमा पुगिसकेपछि मात्र बाहिर ल्याउने विषयमा सहमति समेत गरेका बुझिएको छ । 

यसअघि नेप्सेले प्रादेशिक स्तरका ब्रोकरहरुलाई लाइसेन्स दिने भनेको थियो । तर, लामो समयदेखि नेप्सेको योजना भने ब्रोकर संख्या थपेर ५० बाट १०० पुर्याउने नै थियो । सोहीअनुसार पछिल्लो प्रयास अगाडि बढेको हो । 

नेप्सेको यो प्रस्तावको विषयमा हाल कायम ५० ब्रोकरहरुले भने विरोध गर्दै आएका छन् । तर, लगानीकर्ताहरुले भने कारोबार रकम ५ अर्ब नजिक पुगिसकेको अवस्थामा र लगानीकर्ताको संख्या समेत ह्वात्तै बढेको तथा दोश्रो बजारको पहँुच व्यापक बन्दै गएको अवस्थामा ब्रोकर संख्या थप्नु सान्दर्भिक हुने र १०० ब्रोकरहरुलाई शाखा बिस्तारमा जोड दिन भनिए यसबाट दोश्रो बजार जिल्ला जिल्लासम्म बिस्तार हुने बताउँछन् ।