काठमाण्डौ। स्कट ब्रोकर्स एसोसिएसनले ब्रोकर कम्पनीहरुलाई ५ हजार थान मास्क वितरण गरेको छ।

कोरोनाभाइरस रोकथाम अभियानअन्तर्गत ब्रोकर हाउसहरुमा छिर्नका लागि मास्क अनिवार्य गरिएसँगै भुलेर मास्क नलगाई ब्रोकर हाउस पुगेका ग्राहकलाई लक्षित गरेर एसोसिएसनले मास्क उपलब्ध गराएको हो। 

ब्रोकर हाउसहरुमा आइतबारदेखि लगानीकर्ता र कर्मचारी छिर्दा मास्क अनिवार्य गरिएको छ। यदि कसैले मास्क लगाएका छैनन् भने अब ब्रोकर हाउस छिर्न पाउने छैनन्। 

एसोसिएसनका अध्यक्ष भरत रानाभाटका अनुसार कोरोनाभाइरसप्रति सचेत रहन र रोकथामका लागि एसोसिएसनले यस्तो पहल गरेको हो। उनले यदि कसैले मास्क लगाएका छैनन् भने ब्रोकर हाउसमै उपलब्ध हुने व्यवस्था पनि मिलाइएको दाबी गरे। 

राजधानीमा अहिले ५० वटै ब्रोकर हाउसहरु छन्। ती सबैलाई लगानीकर्ता सेवाग्राही र कर्मचारीलाई कोरोनाको संक्रमणबाट बचाउनका लागि एसोसिएसनकै पहलमा मास्क उपलब्ध गराइसकिएको रानाभाटले बताए। 

रानाभाटका अनुसार एसोसिएसनकै पहलमा ५ हजार मास्क ल्याएर प्रत्येक ब्रोकर हाउसमा १०० वटा वितरण गरिएको छ। आगामी दिनमा पनि बजारमा उपलब्धताका आधारमा ब्रोकर हाउसहरुमा एसोसिएसनले मास्क उपलब्ध गराउने रानाभाटले जानकारी दिए। 

त्यसो त नियायम निकाय सेबोनले पनि सेयर कारोबार हुने ब्रोकर हाउसहरुमा लगानीकर्ताको भीडभाड हुने भएकोले मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह गरिसकेको छ। सोहीअनुसार एसोसिएसनले ब्रोकरहरुलाई मास्क उपलब्ध गराएको हो। 

बोर्डकै निर्देशनअनुसार ब्रोकर हाउसहरुले हात सफा गर्न मूल ढोकामै सेनिटाइजर र भित्तामा कोरोनाभाइरसम्बन्धी जानकारीमूलक सूचनाहरु टाँगिसकेका छन्।