काठमाण्डौ । स्टक ब्रोकर नम्बर २५, श्वेता सेक्युरिटीज प्रालिले लगानीकर्तालाई क्लोजआउटका नाममा ठगी गरेको रहस्य खुलेको छ।  

६५ वर्षीय लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठले समयमा नै डीआइएस चेक दिँदा समेत सेयर बिक्रीबापत क्लोजआउटको नाटकीय काम गरी १ लाख रुपैयाँ बढी गैरकानूनी ठगी गरेको आरोप लगाएका हुन् ।

श्रेष्ठले गत फेब्रुअरी २६ तारिखमा नेपाल लाइफ, नेशनल लाइफ इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, ग्लोबल आइएमई बैंकको सेयर कुल ४ लाख ७६ हजार ६६० रुपैयाँमा बिक्री गरे । उनले सेयर हस्तान्तरणका लागि डीआइएस चेकसमेत बिक्री गरेकै दिन ब्रोकरलाई बुझाएको बताए । उनको डिम्याट अकाउन्ट भने नेपाल इन्भेष्टमेन्ट बैंकको रहेछ । उनले उपलब्ध गराएको प्रमाणलाई हेर्दा मार्च १ तारिखका दिन नै सेटलमेन्ट भई उनको डिम्याट खाताबाट सेयर डेबिट भइसकेको देखिन्छ ।

श्रेष्ठले लेजर मगाएर पछि हेर्दा १ लाख रुपैयाँ हाराहारी क्लोजआउटका नाममा ब्रोकरले उठाउन बाँकी रहेको भनी लेखिएको बताए । उनकाअनुसार १ लाख रुपैयाँ अनाहकमा क्लोजआउटको पैसा असूल गरी ग्राहकको खातामा ४४ हजार रिटर्न समेत गरिएको छ । ‘ब्रोकरले मनोमानी रुपमा मेरो पैसा गोलमाल गर्यो । मलाई रणभुल्लमा पार्यो । मैले सेयर बिक्री गरेपछि मेरो खाताबाट सेटलमेन्ट मितिमा नै डेबिट भएको छ । मलाई न्याय दिनुपपर्यो ।’–उनले बिजशालासँग हारगुहार मागे ।

स्टक ब्रोकर नम्बर २५ का सञ्चालक सुयोग अधिकारीले आरोप झूठा भएको जिकिर गरे । अधिकारीले समयभन्दा ढिला डीआइएस आएकाले क्लोजआउटमा परेको दाबीसमेत गरे । हामीले यस विषयमा थप अध्ययन गरी प्रष्ट हुन केही समयसमेत दियौं । अधिकारीले केही समयपछि सेयर फुकुवा नगरी सेयर बेचेको अनि क्लोजआउट परेको अर्को तर्क पेश गरे ।

के हो त चूरो कुरो ?
लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठले आफूसँग रहेको सेयर गत फेब्रुअरी २६ तारिखका दिन अर्थात् फागुन १४ गते बुधबारका दिन सेयर बिक्री गरे । उनले सोही दिन डीआइएससमेत दिए । राफसाफ टीप्लस थ्रीमा हुने भएकाले बुधबारको सेटलमेन्ट मार्च १ अर्थात् फागुन १८ गते आइतबार भयो । सेटलमेन्ट भइसकेपछि श्रेष्ठको डीपी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले मार्च १ मा नै डेबिट गरेको प्रष्ट देखिन्छ । उसो त बेचेकै दिन बिक्रेता(श्रेष्ठ)ले ब्रोकरलाई सेयर ट्रान्सफरका निम्ति डीआइएस चेक बेलैमा दिएका थिए । 

स्टक ब्रोकर नम्बर २५ का सञ्चालक सुयोग अधिकारीले भने झैं सेयर धितोमा रहेको खण्डमा सम्बन्धित डीपी नेपाल इन्भेष्टमेन्ट बैंकले श्रेष्ठको डिम्याटबाट सेयर डेबिट गरिदिएन । तर मार्च १ मा श्रेष्ठको सेयर डेबिट नै भइसकेको प्रमाण छर्लङ्ग छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले समेत मार्च १ मा इन्द्रकृष्ण श्रेष्ठको क्लोजआउट परेको जनाएको छ ।

राफसाफको समय दिउँसो १२ बजेको डेडलाइन हुन्छ । यदि १ मिनेटमात्रै ढिला भएपनि सेयर क्लोजआउटमा पर्छ । बिक्रेताले डीआइएस समयमै दिएपनि ब्रोकरकै हेल्चेक्र्याईँले गर्दा लगानीकर्ताले अनाहकमा लाख रुपैयाँ हाराहारी क्लोजआउटको भागिदार खेप्नुपरेको देखिन्छ ।