काठमाण्डौ । स्टक ब्रोकर नम्बर २५, स्वेता सेक्युरिटीजबाट अनाहकमा क्लोजआउट रकमको नाममा जरिवाना तिर्न बाध्य लगानीकर्ताले न्याय पाएका छन् ।

हिजो मात्र स्टक ब्रोकर नम्बर २५ ले लगानीकर्ता इन्द्रकष्ण श्रेष्ठको बैंक खातामा १ लाख रुपैयाँ हाराहारी रकम पठाइदिएको हो । 

हाल उनी न्याय पाएकोमा खुशी छन् ।

निषेधाज्ञाका कारण इन्द्रकृष्ण श्रेष्ठका छोरा ईश्वर श्रेष्ठले फोन र इमेलबाट समेत धितोपत्र बोर्ड, सिडिएससी लगायतमा न्यायको लागि ढोका घच्घच्याएको बताए । 

निषेधाज्ञा र लकडाउनका बीच आवतजावतमा कठिनाइ भएकाले मुद्धालाई लम्ब्याउने प्रयास भएको, तर निरन्तर न्यायका लागि आवाज उठाइएपछि बोर्डकै अग्रसरतामा न्याय पाएको श्रेष्ठले बताए । 

यो विषयको मुद्दा हेरेका धितोपत्र बोर्डका एक अधिकारीले भने न्याय दिनुका साटो ब्रोकरसँग मिलेमतो गरी आलटाल गर्ने प्रयाससमेत भएको श्रेष्ठले खुलासा गरे ।

बीस दिनअघि बिजशालामा ६५ वर्षीय लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठले क्लोजआउटका नाममा ब्रोकर नम्बर २५ ले रकम असूल गरेको सप्रमाण पेश गरेपछि हामीले थप अनुसन्धान गरी समाचार तयार पारेका थियौं । लगानीकर्ता श्रेष्ठले सेयर बिक्री गरेकै दिन सेयर ट्रान्सफर गर्न डीआइएस चेक दिँदासमेत क्लोजआउटमा परे । 

गत वर्ष नै सेयर बिक्री गर्दा ब्रोकरले क्लोजआउटको रकम व्ययभार थपेका बारे अज्ञात रहेका इन्द्रकृष्ण श्रेष्ठले लेजर हेरेपछि मात्र ब्रोकरबाट गलत काम भएको र न्यायका लागि लड्ने उनका छोरा ईश्वर श्रेष्ठले आखिरीमा न्याय पाए ।

अब के पाठ सिक्ने ?
सेयर लगानीकर्ताले पनि ब्रोकरमार्फत सेयर खरिदबिक्री गर्दा व्यक्तिगत हिसाबकिताब र बिलहरु समयसमयमा रुजु गर्नुपर्छ । 

धितोपत्र बोर्डका अधिकारीहरु ब्रोकरसँग मिलेमतो हुने सम्भावना भएकाले न्यायका लागि मिडियासामु नडराई आउनुपर्छ । धितोपत्र बोर्ड लगानीकर्ताको हकहितका लागि लड्ने संस्था हो न कि ब्रोकरको पक्षमा । त्यसैले सेयर बजारमा न्यायको मन्दिर मानिएको नेपाल धितोपत्र बोर्डले समेत श्रेष्ठजस्ता ज्येष्ठ लगानीकर्तालाई सम्मान, संरक्षण र न्याय प्रदान गर्नुपर्छ ।