►भक्तराज रसाइली

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बैंकहरुलाई समेत ब्रोकर लाइसेन्स दिने व्यवस्था गरेसँगै सेयर बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको अभ्यास पनि जारी छ । सेयर कारोबारमा भित्रिएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा आफ्नो सेवालाई चुस्त बनाउने उद्देश्यले ३६ जना ब्रोकर केही समयअघि श्रीलंका र मुम्बईमा त्यहाँ भएका प्रयोगहरुको अध्ययन गरेर स्वदेश फर्किए । 

सो क्रममा उनीहरुले ती क्षेत्रमा ब्रोकरेजको सेवा दिने उद्देश्यले ब्रोकर कम्पनी र बैंकहरुबीच सहकार्य भएको उदाहरण समेत देखे । त्यहाँको यस्तो उदाहरणीय व्यवस्थाबाट प्रभावित ब्रोकरहरुले नेपाल फर्किएपछि सेयर बजारमा आफूहरुको विज्ञता र बैंकहरुको पूँजीको समीश्रण गरी सहकार्यका आधारमा अगाडि बढ्न सकिए त्यसले पूँजीबजारको विकासमा कोशेढुंगा सावित हुने तर्क अगाडि सारेका छन् । 

कतिपय बैंकरहरुले ब्रोकरहरुको यस्तो आशयलाई वाणिज्य बैंकहरुले ब्रोकरेजको लाइसेन्स पाएपछि व्यवसाय गुम्ने भयबाट सृजित अभिव्यक्तिको रुपमा हेरेका छन् भने कतिपयले यो प्रस्ताव राम्रो रहेको भन्दै छलफल अगाडि बढाउन सकिने बताएका छन् । 

बैंकहरुले ब्रोकर लाइसेन्स पाएपछि त्यसको शीघ्र कार्यान्वयन होला र गाउँ गाउँसम्म सेयरबजारको पहुँच बिस्तार होला भन्ने आशामा लगानीकर्ता उत्साहित देखिन्छन् । यहीबेला २५ वर्षदेखि एकछत्र सेयर कारोबारमा राज गरिरहेका केही ब्रोकरहरु भने आफूहरुको विजिनेशलाई चौपट गर्ने हिसाबले आएको नीतिप्रति खुशी छैनन् । 

कतिपय ब्रोकरले त केन्द्रीय बैंकको यो नीतिलाई ‘अध्ययनबिना गरिएको व्यवस्था’ भनेका छन् भने कतिपयले बैंकहरुको प्रभावमा परेर उनीहरुलाई सहज पार्ने हिसाबले यो व्यवस्था गरिएकोसम्म भन्न भ्याएका छन् ।  

कतिपयले ब्रोकर  कम्पनीहरुको सेवा बिस्तार तथा विविधिकरणको नीति राज्यले लिनुपर्नेमा त्यसको ठीक विपरीत सेयर बजार धान्दै आएकाहरुलाई हतोत्साही गर्ने गरी बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिने नीतिगत व्यवस्था भएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । 

क्रियाप्रतिक्रियाका बीचमा ब्रोकर कम्पनी र बैंकहरुले ब्रोकरेज सेवाका लागि संचालन गर्ने सहायक कम्पनीबीच मर्जरसम्मको तर्क समेत अगाडि सारिएको छ । के श्रीलङ्कामा जस्तै नेपालमा पनि ब्रोकर कम्पनी र बैंकबीच सहकार्य संभव होला ? वर्षौदेखि सेयर बजार सम्बन्धी विज्ञता हासिल गरेका ब्रोकर र पूँजीको बलियो आधार भएका बैंकहरुबीचको सहकार्यका आधारमा विदेशमा जस्तै नेपालका लगानीकर्ताले पनि भरपर्दो र गुणस्तरीय ब्रोकरेज सेवा पाउने अवस्था बन्ला ? 

ब्रोकरहरुको वर्षौदेखिको विज्ञता र बैंकहरुको बलियो पूँजीआधारबीच समन्वय र सहकार्य हुन सके यसले लगानीकर्ताको भलो नै गर्नेछ । हामीले यसै सन्दर्भमा केही ब्रोकर, केही लगानीकर्ता र बैंकरहरुसँग कुराकानी गरेका छौ । 

के भन्छन् ब्रोकर ?
आफूहरु प्रविधिको प्रयोगमा केही कमजोर भएकोमा केही ब्रोकर सहमत छन् । निकट भविष्यमा लागू हुन लागेको अनलाईन प्रणाली भएपछि काउन्टर पोइन्ट खोल्दा हुने र बैंकबाट म्यानुपुलेसन पो हुने हो कि भन्ने शंका कतिपय ब्रोकरमा देखिएको छ । 

बैंकसँग रणनीतिक साझेदारी गर्दा आफ्ना दक्ष जनशक्ति र बैंकको पर्याप्त पूँजी संरचनाको समीश्रणबाट नियामकसम्म बलियो लबिङ गर्न सकिने, आफूहरुको आवाज बलियो हुने र प्रतिस्पर्धा समेत वृद्धि हुने एक ब्रोकरले बताए । तर, उनले बैंकहरुलाई सहायक कम्पनीमार्फत ब्रोकरको काम गर्न दिंदा बजारमा इन्साइडर ट्रडिङको धन्दा बढ्ने दाबी गरे । 

ती ब्रोकरलाई यस्तो अवस्थामा अब ब्रोकरहरुले के गर्छन् त ? भनी सोध्दा उनले भने–‘हामी बैंकहरु आउँदैमा आत्तिने कुरा हुँदैन । तर, हामीले पनि सेवामा विविधिकरण गर्न पाउनुपर्छ । पोर्टफोलियो व्यवस्थापन , सल्लाहकार, बीमा अभिकर्ता लगायतका क्षेत्रमा समेत सेवा संचालन गर्ने अधिकार दिइए त्यो प्रभावकारी हुन्छ । छुट्टै नियमनबाट मार्केट डिलरका रुपमा पनि भूमिका पाए हामीले बजार विकासका लागि अझ धेरै गर्नसक्छौ ।’

बजार विकासमा केन्द्रित हुँदै नयाँ प्रडक्ट विकास गर्ने र त्यसबाट लगानीकर्ताले विभिन्न उपकरणमा लगानीको अवसर पाउने उनको दाबी छ । यस्तो प्रयासले बजारमा हुने अप्राकृतिक उतारचढाव समेत रोकिने उनको दाबी छ । 

बैंकलाई ब्रोकर लाइसेन्स दिइँदा स्वार्थको द्वन्द्व उत्पन्न हुने र अभ्यस्त हुन समय लाग्ने अर्का एक सेयर ब्रोकरले बिजशालालाई बताए । ‘ब्रोकर संख्या बढ्नुमा मेरो आपत्ति हैन, तर सानो बजारमा वित्तीय उपकरणहरु पर्याप्त छैनन् । यस्ता उपकरण भइदिए बजार फराकिलो हुन्थ्यो र धेरै संख्यामा ब्रोकर भए पनि सबैले भनेजस्तो विजिनेश पनि पाउँथे ।’ ती ब्रोकरले भने–‘बैंकको पूँजी , सञ्जाल र प्रविधिको प्रारुप र हाम्रो अनुभवलाई मर्ज गराए यसको सेयर बजारमा सिनर्जी इफेक्ट हुन्थ्यो । त्यही भएर हामीले श्रीलंका भ्रमणको क्रममा त्यहाँ देखिएको प्रयोग यहाँ पनि गर्न सकिन्छ कि भन्ने सोचेका हौ ।’ 

नियामकबाट प्रश्न आउला र दण्डित हुनुपर्ला कि भन्ने डरका कारण नाम खुलाउन नचाहने अर्का एक ब्रोकरले हाल अस्तित्वमा रहेका ५० वटा ब्रोकरहरुलाई सुविधासम्पन्न र आधुनिक बनाउनुपर्नेमा जोड दिए । ‘बैंकलाई लाइसेन्स दिने नीति कतै नीतिगत भ्रष्टाचार त हैन’ भन्ने शंका व्यक्त गर्दै उनले यस्तो व्यवस्थाबाट सूचनाको दुरुपयोग गर्दै बजारमा इन्साइडर ट्रेडिङ र कार्टेलिङको धन्दा चलाउन सक्नेमाथि नियामकले कडा निगरानी राख्नुपर्नेमा जोड दिए । बरु ब्रोकरको एजेन्सी लिई एजेन्सीमार्फत बजार विस्तार हुनसक्ने उनको सुझाव छ ।

ब्रोकरेज सेवा बैंकहरुको प्राथमिकतामा नरहेको अवस्थामा सेयर बजार हिस्सा ८० प्रतिशत भएको क्षेत्रका सूचिकृत कम्पनीहरुलाई नै ब्रोकर सेवा संचालनको लाइसेन्स खुल्ला गरिदिंदा यसले समस्या निम्त्याउन सक्ने अर्का एक ब्रोकरको भनाई छ । ‘पर्याप्त अध्ययन गरेपछि मात्र बैंकलाई लाइसेन्स खुला गर्नुपथ्र्यो ।’ ती ब्रोकरले बिजशालासँग् भने–‘बैंकको सेयर बजार अंश नघटाई यस्तो काम गर्न हुँदैन थियो । अब सरकारबाट मार्केट डिलरका लागि अबिलम्ब कदम चाल्नुपर्छ ।’

उनले समेत सरकारले नीति बनाएर अगाडि आएको खण्डमा बैंकहरुसँग ब्रोकरेज सेवा संचालनका लागि मर्ज भई काम गर्न सकिने आशय व्यक्त गरे ।

के भन्छन् लगानीकर्ता ? 
यो बिषयमा हामीले देशका विभिन्न क्षेत्रका लगानीकर्ताको समेत प्रतिक्रिया बुझ्ने कोशिश गरेका थियौं । झापाका लगानीकर्ता बिनोद गौतमले भने–‘बजारलाई व्यापक र विश्वसनीय बनाउन बैंक र ब्रोकर मिलेर अगाडि आए राम्रो हो । बैंकमार्फत् अन्तर्राष्ट्रिय सञ्जालको सदुपयोग गर्दै ब्रोकरेज सेवा बिस्तार हुन सके बजारले सकारात्मक फड्को मार्ने छ।’

सुनसरीको धरानका सेयर लगानीकर्ता प्रवीण अग्रवाल भन्छन्–‘सहरमुखी ब्रोकर भए, तर बैंक गाउँमा पनि पुग्ने भएकाले बैंकलाई ब्रोकर लाइसेन्स स्वागतयोग्य छ ।’

बुटवलका सेयर लगानीकर्ता लक्ष्मण बेलबासेले बिजशालासँग कुरा गर्दै बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने व्यवस्थाले रुकुम, रोल्पाजस्ता विकट क्षेत्रका लगानीकर्ताले समेत सहजै दोश्रो बजारमा कारोबार गर्न पाउने र यो व्यवस्थाले वर्षौदेखि चलिआएको सिण्डिकेटको समेत अन्त हुने दाबी गरे । उनले काम गर्दै आएका ब्रोकर र बैंकहरुले स्थापना गर्ने सहायक कम्पनीबीच मर्ज हुन सकेको खण्डमा त्यसले सेयर लगानीकर्ताहरुलाई सुविधा हुने राय समेत प्रकट गरे । 

के भन्छन् बैंकर ?
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले ब्रोकरहरुबाट आएको सहकार्यको कुरा सकारात्मक प्रस्ताव भएको प्रतिक्रिया दिए । ‘उहाँहरुको विज्ञता र हाम्रो बलियो पूँजीको आधारबीच तार्किक समन्वय हुन सकेमा राम्रै हुन्छ ।’ उनले भने–‘ब्रोकरेज सेवाका लागि ब्रोकर कम्पनी र बैंकबीच सहकार्यको अजेण्डा राम्रो छ, छलफल गर्न सकिन्छ ।’ 

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पनि ब्रोकरहरुबाट ब्रोकरेज सेवा प्रवाहमा सहकार्यको प्रस्ताव आए आफूहरु तयार रहेको बताए । ‘हाम्रो सहायक कम्पनी ग्लोबल आईएमइ क्यापिटलबाट ब्रोकर सेवा दिने हो, ब्रोकरबाट त्यस्तो उपयुक्त प्रस्ताव आए त्यसमा छलफल गरी अगाडि बढ्न हामी खुल्ला छौ ।’ उनले भने–‘ब्रोकर र बैंक मिल्दा लगानीकर्ताको हित नै हुन्छ । यसले सेयर बजारको विकास र बिस्तारमा पनि सहयोग पुर्याउन सक्छ ।’