काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले पुस १२ गते आइतबारदेखि नयाँ ब्रोकर कमिसन लागू गरेको छ। ब्रोकर कम्पनीहरुलाई भने नयाँ कमिसनमा चित्त बुझेन। अनि सबै ५० वटै ब्रोकर कम्पनीहरुले हिजै संयुक्त रुपमा धितोपत्र बोर्डसमक्ष कमिसन पुनरावलोकनको माग गर्दै ज्ञापनपत्र पेस गरे।
यसअघि २०७३ सालमा ब्रोकर कमिसन ४० प्रतिशत कटौती गरिएको थियो। यो वर्ष पनि ब्रोकर कमिसन ३३ प्रतिशतदेखि ६० प्रतिशतसम्म कटौती गरिएको छ। कमिसन कटौतीबाट ब्रोकरेज इन्डस्ट्री नै धराशयी हुने हो त ? यीलगायतका विषयमा बिजशालाकर्मी भक्तराज रसाइली र स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीबीच भएको वार्तालापको सारसंक्षेप–
हिजो आइतबारदेखि नयाँ ब्रोकर कमिसन लागू भएपछि ब्रोकरहरु रुष्ट भएर बजार घटाइयो भन्ने बजारमा सर्वत्र आरोप छ नि। यस विषयमा तपाइँको धारणा के हो ?
आरोप तथ्यहीन छ। बजार घट्नु केवल संयोगमात्र हो। यसमा कुनै सत्यता छैन। आरोप विभिन्न लाग्ने गर्छन्, जुन अन्तर्राष्ट्रिय क्षेत्रका ब्रोकरहरुले पनि भोग्दै आइरहेको विषय हो।
एउटा ब्रोकरका औसतमा ५ वटा लगइन तर बजारमा अनलाइन लगइन लिनेको संख्या २ लाख बढी छन्। अब भन्नुहोस् करिब ३०० ब्रोकर लगइनले बजार घटायो कि २ लाख बढी लगानीकर्ताले ? लगानीकर्ताहरुले नै सरासर बजार घटायो भन्ने मलाई चाहिँ लाग्छ।
पछिल्लो समयमा लगानीकर्ता र ब्रोकरमा विश्वासको खडेरी पैदा भएको छ, जुन निकै दुःखद् हो। दुवै सरोकारवालाबीच विश्वास बढाउन आवश्यक छ, जसले समग्र बजारलाई नै हित गर्छ।
बोर्डले ब्रोकर कमिसन कटौती गर्नेबित्तिकै सबै ५० ब्रोकरहरु नै धितोपत्र बोर्ड पुग्नुभएछ। हिजो आइतबार बोर्ड जानुपर्ने खास उद्देश्यबारे प्रस्ट पारिदिनुस्।
बोर्डले ब्रोकर कमिसन ३३ प्रतिशत देखि ६० प्रतिशत कटौती गरेसँगै यो निर्णयका कारण ब्रोकर व्यवसाय दीर्घकालसम्म धान्न मुश्किल भएकाले हामी ज्ञापनपत्र बुझाउन बोर्ड गएका थियौँ। विगत ४ वर्षदेखि ब्रोकर कम्पनीका वित्तीय विवरण हेर्ने हो भने अधिकांश ब्रोकर कम्पनी घाटामा सञ्चालित छन्। हालकै कारोबार रकमले निरन्तरता पाउने कुनै ग्यारेन्टी छैन। तरलताकै कारण कारोबार रकम उच्च भइरहेको छ तर बजारमा कुन समय तरलता संकट आउने हो त्यो विषयमा पनि कुनै अध्ययन र अनुमान गर्न सकिने आधार छैन। दीर्घकालमा व्यवसाय टिक्नसक्ने बलियो आधार पनि नभएर नै बोर्डलाई पुनर्विचार गर्न आग्रह गरेका छौँ। ४ वर्षअघि पनि बोर्डले ब्रोकर कमिसन कटौती गर्दा ब्रोकरेज सेवामा अन्य सेवा तथा सुविधाहरु दिइने विषय पनि फुस्स नै भयो। तर अब चाहिँ कुनै पनि हालतमा हुनैपर्छ भन्ने हाम्रो मान्यता हो। समग्र बजारको विकासका लागि दक्ष मानव संसाधन र प्रविधिमा लगानी गर्नुपर्ने भएकाले हामी बोर्ड जान बाध्य भयौँ।
ब्रोकरहरुको कसरी खर्च घटेको छैन ? विस्तारमा बताइदिनुहोला।
विगत ४ वर्षदेखि ब्रोकरको खर्च ३५ प्रतिशतले बढेको छ भने ब्रोकरहरुको लगानी १०३ प्रतिशतले वृद्धि भएको छ। नयाँ प्रविधिले सहजता ल्याए पनि नयाँ जोखिम थपिनै रहेको हुन्छ। प्रविधिसँग ठूलो जोखिम हुन्छ। हिजोआज सोही जोखिम व्यवस्थापनको भार बढिरहेको छ। प्रविधि र जोखिम व्यवस्थापन लागत बढिरहेकाले खर्च पनि नघटेको हो। डाटा होस्टिङ लागत ४ गुणाले बढिसकेको अवस्था छ भने आगामी दिनमा अझै ३–४ गुणा बढ्दै जाने वर्तमान परिदृष्यले बताइरहेको छ। नयाँ टीएमएस ल्याउनुपर्ने टड्कारो आवश्यकतासँगै अब प्रविधि र मानव संसाधनको खर्च पनि अझै बढ्दै जान्छ।
हाल नयाँ ब्रोकर कमिसनले व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउने हो त ? ब्रोकरेज व्यवसाय धराशयी हुने आधारहरु के–के हुन् ?
ब्रोकरहरुको पुँजी लगानीमा उचित प्रतिफल नभइरहेको अवस्था छ। लगानीमा उचित प्रतिफल पाउनुपर्ने विश्वव्यापी मान्यताबाट हामी बाहिर जान सक्दैनौँ। बैंकको मुद्दतिमा राखेबराबर पनि हाल प्रतिफल नपाइरहेका कारणले व्यवसाय धराशयी अवस्थामा जाने निश्चित प्रायः छ। सञ्चालन खर्च धान्न सवा अर्ब कारोबार हुनैपर्छ र ब्रोकरको पुँजीलाई धान्न पनि सवा २ अर्ब रुपैयाँ कारोबार हुनुपर्छ। समग्रमा प्रतिफलभन्दा खर्च बढी भएकाले व्यवसाय नै संकटोन्मुख भइरहेको र हामी विचलित हुने अवस्थासम्म पुगेका छौँ।
ब्रोकर कमिसन कटौती यदि पुनर्विचार भएन भने के गर्नुहुन्छ ?
हाम्रो माग ब्रोकर कमिसन कटौती पुनर्विचार होस् भन्ने हो। माग सम्बोधन समयले नै गर्नुपर्छजस्तो लाग्छ। जोखिम उच्च भएकाले व्यवसायको विकल्प खोज्न बाध्य हुनेछौँ र यस्तै अवस्था रहे व्यवसायबाट पलायन नै हुनुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न।
केबल सेयर खरिदबिक्रीबाट मात्रै आम्दानी भएकाले पनि हामी केही विचलित भएका हौँ। ब्रोकर स्वयंले आफ्नै कम्पनीबाट सेयर खरिदबिक्री गर्न पाउने (प्रोप्राइटर डिलरसिप), बोन्ड मार्केटलाई अझै व्यापक र आकर्षित गर्न नियामकीय पहल, पोर्टफोलियो व्यवस्थापनलगायतका सेवा प्रवाह गर्न बोर्डले अनुमति दिइनुपर्छ नत्र भने व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago