काठमाण्डौ । बढ्दो बजारमा पछिल्लो समय स्टक ब्रोकर (धितोपत्र दलाल व्यवसायी) को मनोमानी बढ्न थालेको छ। ब्रोकरहरुको मनोमानीकै कारण दैनिकजसो साना लगानीकर्ता सेयर किनबेचमा प्रताडित भएका छन्।

स्टक ब्रोकर नम्बर ३३ दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिले एक लगानीकर्तामाथि मनोमानी गरेको छ।

दक्षिणकालीका ग्राहक उदय जीसीले गत डिसेम्बर २० तारिखका दिन बरुण हाइड्रोपावर कम्पनीको प्रतिकित्ता रु. १९२ का दरले १०० कित्ता सेयर खरिद गरेका थिए। त्यसपछि खरिदबापतको रकम भुक्तानी मोबाइलबाट जीसीले डिसेम्बर २३ का दिन पठाइदिए। उनले सेयर खरिदबापतको सेयरको भुक्तानीको रसिद ई–मेलमार्फत पनि पठाइदिएको बताए। 

तर दक्षिणकालीले भने जीसीको डिम्याट खातामा गत जनवरी ११ तारिखका दिनमात्रै सेयर पठाए। अरु बेला सामान्यतया ५ औँ दिनमै सेयर बिक्री गरे पैसा र सेयर खरिद गरे सेयर आउने उनको भनाइ छ।
यो केबल एउटा सामान्य उदाहरणमात्रै हो। साना लगानीकर्तामाथिको दमन र अत्याचार गर्न ब्रोकरहरु उद्धत्त छन्। जीसीजस्ता हजारौँ लगानीकर्तालाई सेयर बिक्रीबापतको रकम महिनौँ अल्झाउने र सेयर खरिद गरेपछि सेयर डिम्याट खातामा नपठाइदिने धन्दामा ब्रोकरहरु निकै अगाडि छन्। कतिपय साना तथा नयाँ लगानीकर्ता ब्रोकरको यस्तै मनोमानीले प्रताडित छन्। 

राफसाफ चक्र टी प्लस ३ मा सम्भव भए तेस्रै दिन तथा सेयर वा पैसा चौथो दिनभित्र आउनुपर्छ। तर हिजोआज दोस्रो बजारमा विशेषगरी नयाँ तथा साना लगानीकर्ता यसप्रकारको दुःख र झन्झटबाट निकै प्रताडित छन्। 

दक्षिणकालीले झैँ धेरै ब्रोकर कम्पनीहरुले यस किसिमको लापरबाही र मनोमानीकै कारण कालान्तरमा बजारप्रति लगानीकर्ता उदासीन हुनुपर्ने अवस्था पनि आउँछ।

कतिपय अवस्थामा लगानीकर्ताहरु धितोपत्र बोर्ड पुग्छन् तर स्टक ब्रोकर र धितोपत्र बोर्डका उच्च अधिकारीहरुको राम्रो सम्बन्ध भएकै कारणले जीसीजस्ताका समस्या ओझेलमा पर्छन् र समस्या बारम्बार देखिन्छन्।

दक्षिणकालीका सञ्चालक दिनेशराज सापकोटासँग यस विषयमा बुझ्न खोज्दा लगानीकर्ताले सेयर हाल्न फोन नगरेकाले नपठाइएको ठाडै जवाफ दिए। उनले यस्ता हजारौँ समस्या भइरहेको स्वीकार्दै धेरै दिनपछि भए पनि सेयर खातामा पठाइएकोमा गर्व महसुस गरे।

यो इस्यू सामान्य भएको दाबी गरेका सापकोटाले नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई नै खुला चुनौती दिए। अर्थात् सेयर खरिदबापतको रकम लगानीकर्ताले पठाए पनि फोन गरेमात्रै सेयर दिने उनले बताए। तर ब्रोकरलाई भुक्तानी गरेपछि सेयर सोझै खरिदकर्ताको डिम्याट खातामा पठाउने काम ब्रोकरको प्रमुख कर्तव्य हो। 

सापकोटाले राफसाफ भएको १८ दिनपछि खरिदकर्ताको डिम्याट खातामा सेयर पठाएकोमा गर्व गर्नुले नियमनकारी निकायको धज्जीमात्रै होइन कि उनीजस्ता ब्रोकरकै पकडमा हाल पनि सेयर बजार रहेको प्रस्ट हुन्छ। 

राजनीतिक नेतृत्व भएको लगानी भएकै कारणसमेत सापकोटा लगानीकर्ता र नियमनकारी निकायका अधिकारीहरुसँग जबाफदेही नरहेको ब्रोकर स्रोत बताउँछ। ‘नियमनकारी निकायसँग सोझै आँखा जुधाएर कुरा गर्ने हैसियत भएकै कारण पनि बोर्ड र नेप्सेले हालसम्म कारबाही गर्ने आँट गर्दैनन्’, एक ब्रोकरले भने।

दोस्रो बजारलाई अवसरका रुपमा ठानी लगानी गरेका सेयर लगानीकर्ताले राफसाफ चक्रअनुसार सेयर खातामा नआउँदा बिक्री गर्नबाट वञ्चित हुन्छन्। दीर्घकालीन लगानीकर्ताले लाभांशका लागि लगानी गरेका हुन्छन् भने अल्पकालीन लगानीकर्ताले पूँजीगत लाभका लागि लगानी गर्दछन्। सेयर खरिदबापतको भुक्तानी रकम ब्रोकरलाई हस्तान्तरण गरेपछि खरिदकर्ताको खातामा सेयर पठाउने कामको मध्यस्थताका लागि नै ब्रोकरले भूमिका खेल्नुपर्छ।

लगानीकर्ताको हकहितको रक्षा गर्न स्थापित धितोपत्र बोर्ड र नेप्सेसमेत लगानीकर्तामाथि भएको अन्याय र दमनमाथि खरो रुपमा उत्रन सक्ने हिम्मत राख्दैनन्। राजनीतिक आड र खोलमा स्टक ब्रोकरहरुले बजारमाथि नै काबु राख्दासमेत नियमनकारी निकाय मौनता साँध्नूबाहेक अन्य विकल्प छैन।