– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यतिबेला कोरोनाभाइरसको नयाँ भेरियन्टले विश्वलाई आतंकित बनाइरहेको छ। विभिन्न देशमा यो भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आआफ्नो रणनीति बनाएर अगाडि बढिरहेका छन्। कतिपय देशहरुले त प्रतिबन्धहरु बढाउँदै लगेका छन्।
छिमेकी मुलुक भारतमा दैनिक संक्रमित हुनेको आँकडा लगभग ३ लाखको हाराहारीमा पुग्न थालिसकेको छ। दैनिक मृत्यु आँकडा पनि २ हजार नाघेको छ।
नेपालमा पनि अहिले दैनिकजसो संक्रमितको संख्या उकालो लाग्न थालेको छ। यही कारण सरकारले नयाँ आदेश जारी गरी विभिन्न प्रतिबन्धहरु लगाइसकेको छ।
पछिल्लो समय सेयर बजारमा निकै आकर्षण बढेको छ। सोही कारण धितोपत्र कारोबारसँग सम्बन्धित ब्रोकर हाउसदेखि डीपीहरुसम्ममा लगानीकर्ताहरु दैनिक भीडभाड नै हुने गरेको छ। अन्य क्षेत्र सुस्ताएको बेला सेयर बजार मौलाएको छ। सेयर बजारमा लगानीकर्ताहरु झुम्मिएका छन्।
यस्तो बेला नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार गर्ने व्यवसायी र लगानीकर्ताहरुलाई कोरोना जोखिमबाट जोगाउन सावधानीपूर्वक दैनिक कार्य सञ्चालन गर्न ६ बुँदे निर्देशन जारी गरेको छ। बोर्डले सामाजिक दूरी कायम गर्न, भीडभाड नगर्न र सकभर अनलाइनको भरपूर उपयोग गर्दै घरबाटै कारोबार गर्न भनेको छ।
धितोपत्र बोर्डको यो निर्देशन भने ब्रोकर हाउसहरुमा पालना भएको देखिँदैन। लगानीकर्ताहरु भने अहिले स्वास्थ्य सुरक्षास्थितिलाई नजरन्दाज गर्दै निष्फिक्री रुपमा ब्रोकर हाउसहरुमा भीडभाड गरिरहेका भेटिन्छन्। ब्रोकर हाउसहरुले पनि लगानीकर्ताहरुलाई नियम पालनामा कडाइ गरेको देखिँदैन।
आज पनि ब्रोकर हाउसहरुमा लगानीकर्ताको राम्रै उपस्थित देखियो। अहिले अनलाइनको सुविधा पनि रहेको तथा कारोबार गर्न, ईडीआईएस र भुक्तानी लेनदेन लगानीकर्ताहरु ब्रोकर हाउस पुगिराख्नु पर्दैन। तर किन जान्छन् त लगानीकर्ता ब्रोकर हाउसमा ? लगानीकर्ता कृष्णमाया श्रेष्ठ भन्छिन्, ‘ब्रोकर हाउसमा सरसल्लाह तथा भेटघाट गरेर लगानी गर्दा आत्मविश्वास बढ्छ।’
त्यसो त अधिकांश ब्रोकर हाउसहरुले पहिलेजस्तो अहिले कुनै पनि स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन। सबै सामान्यजस्तै छ । एक ब्रोकरले भने, ‘कोभिडका विषयमा सबैलाई थाहा छ, त्यसैले कर्मचारीदेखि सेवाग्राही सबैले आआफ्नो स्थानबाट स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ।’
केही ब्रोकर हाउसहरुले भने सरकारले तोकेको स्वास्थ्य मापदण्ड कायम गर्न भनेर सूचना टाँसेका छन्। तर व्यवहारमा लागू भएको छैन।
सरकारले ५ जनाभन्दा बढी भेला नहुन आदेश दिएको छ। तर ब्रोकर हाउसहरुमा लगानीकर्ता ५ जनाभन्दा बढी समूहमै बसेर आपसमा बजारका विषयमा मन्थन गरिरहेको पाइएको छ। अरु त अरु ब्रोकर हाउसभित्र पसेर यसरी सेयर बजारको गफिने लगानीकर्ताहरुमध्ये अधिकांश मास्क पनि नलगाउने गरेको पाइएको छ।
यसैगरी अधिकांश ब्रोकर हाउसहरुले पहिलेजस्तो स्यानिटार, मास्कलगायतको व्यवस्था नगरेको पाइएको छ।
स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले धितोपत्र बोर्डले निर्देशन सबै ब्रोकर हाउसहरुले पालना गर्नुपर्ने बताए। ‘केही ब्रोकर हाउसहरुले पहिलेदेखि नै स्वास्थ्य मापदण्ड पालना गरिरहेका छन्’, उनले भने, ‘अब बोर्डको निर्देशनपछि सबैले पालना गर्ने नै छन्।’
अहिलेको परिस्थितलाई लगानीकर्ताहरु आफैँले पनि मनन गर्नुपर्ने मनौलीको भनाइ छ। ‘ब्रोकर हाउसका कर्मचारीदेखि सेवाग्राही सबै सचेत हुनैपर्छ’, उनले भने, ‘आफ्नो स्वास्थ्य विषयमा गम्भीर हुनु सबैको कर्तव्य पनि हो।’
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19