– अर्जुन तिमिल्सिना

काठमाण्डौ। सामान्यतया ब्रोकर हाउसहरुमा सेयर बजारको प्रत्यक्ष कारोबार हेर्नका लागि डिस्प्ले राखिएका हुन्छन्। डिस्प्लेमा प्रत्यक्ष कारोबार हेर्नकै लागि लगानीकर्ताहरु ब्रोकर हाउस पुग्छन्।

पछिल्लो समय कोभिड महामारीका कारण ब्रोकर हाउसका डिस्प्लेहरु खोलिएका छैनन्। जसका कारण लगानीकर्ताहरु प्रत्यक्ष रुपमा सेयर बजारको कारोबार हेर्न पाइरहेका छैनन्। ब्रोकर हाउस पुग्ने लगानीकर्ताहरु कोभिड महामारी कम हुँदै गएको र अन्य सबै क्षेत्र खुल्दै गएकोले अब ब्रोकर हाउसका डिस्प्लेहरु पनि खोल्नुपर्ने आवाज उठाउँदै आएका छन्।

खोप अभियान चलिरहेकै कारण सबै ठाउँमा सर्वसाधारणको चहलपहल बढेको देखिन्छ। कोभिड महामारीबीच पनि खुलेको सेयर बजारमा अहिले पनि लगानीकर्ताको चहलपहल राम्रै देखिन्छ। 

अहिले सेयर बजार प्रविधिमैत्री भएकै कारण कारोबार गर्न र बजारको गतिविधि नियाल्न ब्रोकर हाउस धाउनुपर्ने बाध्यता छैन। टीएमएसको सुविधासँगै इन्टरनेट सुविधा भएका चारकोशे झाडीभित्रैबाट पनि सेयर कारोबार गर्न सकिन्छ। 

लगानीकर्ताहरु भने साथीभाइसँग ब्रोकर हाउसमा गफ गरेर तथा चिया खाएर सेयर कारोबार गर्नुको मज्जा नै छुट्टै हुने बताउँछन्। धेरैजसो ब्रोकर हाउसमा अहिले पनि लगानीकर्ताको उपस्थिति राम्रै देखिन्छ। 

आज कारोबार समयमा काठमाण्डौको कालिकास्थानस्थित नेपाल स्टक हाउस (ब्रोकर नं. १४) मा भने फरक दृश्य देखियो। त्यहाँ लगानीकर्ताहरु डिस्प्लेमै फिल्म हेरेर बसेको पाइयो। एक लगानीकर्ताले ठट्यौली पारमा भने, ‘बजारको गतिविधि हेर्न नपाए पनि फिल्म हेरेर भए पनि डिस्प्लेको सदुपयोग गर्नुपर्यो नि।’

‘आज बजार घटेको घट्यै छ’, ती लगानीकर्ताले भने, ‘त्यो घटेको बजार मोबाइल र ल्यापटपमा हेर्नुभन्दा त फिल्म नै ठीक।’ 

नियामक निकाय नेपाल धितोपत्र बोर्डका अधिकारीहरुले भने नयाँ अध्यक्ष आएपछि मात्रै ब्रोकर हाउसमा डिस्प्ले खोल्न दिने विषयमा निर्णय हुने बताउँदै आएका छन्। बं्रोकरहरु पनि धितोपत्र बोर्डबाट डिस्प्ले खोल्न आदेश दिए खोलिने बताउँछन्।