– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजारमा बजार बढ्दा होस् वा घट्दा ब्रोकरहरुले सधैँ आरोप खेप्नुपरेको अवस्था छ। हिजो टीएमएसमा समस्या आउँदा पनि ब्रोकरहरुले लगानीकर्ताबाट चलखेल भएको आरोप खेप्नुपर्यो।

हिजो टीएमएसमा प्राविधिक समस्या आएसँगै १२ः५३ देखि नेप्सेले सेयर कारोबार रोक्योे। प्राविधिक समस्या समाधान भएपछि कारोबार पुनः सुचारु हुने भनिए पनि समस्या समाधान नभएपछि हिजोको बाँकी समयको कारोबार नेप्सेले स्थगित गर्यो। 

हिजो मध्याह्न १२ः५३ मा कारोबार रोकिए पनि झन्डै ३० वटा ब्रोकरकोमा भने १२ः१० देखि नै समस्या आएको थियो। ती ब्रोकरबाट कारोबार गर्ने लगानीकर्ताकारोबार गर्नबाट वञ्चित भएका थिए। त्यसैले समस्या समाधान नभएसम्म ब्रोकरहरुले सिस्टम चलेको ब्रोकरहरुको पनि कारोबार बन्द गर्ने निर्णय गरे।  

‘हिजो सञ्चालनमा रहेका करिब २० वटा ब्रोकरहरुले आफ्नै सर्भर राखेका छन् भने बाँकी ब्रोकरहरुले सर्भर सेअर गरेका छन्’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘सर्भर सेअर गरेर चलाइरहेको ब्रोकरहरुमा भने हिजो समस्या आएको हो। ब्रोकरहरुले आफ्नै सर्भर राखे पनि होस्टिङ भने योमरी कम्पनी (वाइको) ले नै गरेको छ।’

‘अहिलेको प्रविधि विश्वसनीय छैन। त्यसैले हामीले आफ्नै टीएमएस ल्याउने भनिरहेका छौँ। तर एपीआई पोलिसी नआएकाले रोकिराखेको छ’, ती ब्रोकर सञ्चालकले भने, ‘यो साताभित्र नै एपीआई पोलिसीबारे ठोस निर्णय हुने भनिएको छ। नयाँ टीएसएस सञ्चालनमा नआएमा बजारमा हिजोको भन्दा ठूलो घटना नहोला भन्न सकिन्न।’

अर्का ब्रोकर सञ्चालकले केही लगानीकर्ताले अन्यको सिस्टम बन्द गरेर ठूला ब्रोकरहरुले बजार कब्जा गरेको आरोपमा आपत्ति जनाए। ‘कसैको चल्ने कसैको नचल्ने भएकाले १२ः५३ बाट नै सबै कारोबार बन्द भएको हो’, उनले भने, ‘उक्त समयबाट १ सेकेन्ड पनि कुनै ब्रोकरहरुबाट कारोबार भएको छैन।’

‘फ्लोर सिट हेर्दा सबै कुरा प्रस्ट हुन्छ। गत बिहीबार र आइतबार करोडौँको कारोबार गरेका ब्रोकरहरुको हिजो दुई घन्टा कारोबार रकम हेर्दा सबै कुरा छर्लङ हुन्छ’, ती ब्रोकर सञ्चालकले भने, ‘सीमित संख्यामा ब्रोकरहरुले सिस्टम बिगारेर ३ बजे सम्म कारोबार गरेको भए कारोबार रकम कति हुन्थ्यो होला ?’

सिस्टममा कुनै पनि ब्रोकरको एसेस नरहेको ती ब्रोकरले स्पष्ट पारे। ‘तर, ब्रोकरले सिस्टम नै बिगारेर चलखेल गर्यो भन्ने भ्रम सिर्जना गरिँदैछ’, ती ब्रोकर सञ्चालकले भने। 

‘हाम्रो ग्राहक भनेको नै लगानीकर्ता हुन्। सिस्टम नै बन्द गरेर आफ्नै ग्राहकलाई सेवाबाट वञ्चित गराएर आफ्नो पेट कसरी पाल्ने ?’, प्रश्न गर्दै अर्का ब्रोकर सञ्चालकले भने, ‘हप्तामा ५ दिनमात्र कारोबार हुन्छ। एक दिनमात्र सिस्टम बन्द हुँदा सबैभन्दा बढी घाटा ब्रोकरलाई हुन्छ।’

‘हामीले यो प्रणालीले हुँदैन भनेर बारम्बार सम्बन्धित निकायलाई झक्झकाई रहेका छौँ’, ती ब्रोकर सञ्चालकले भने, ‘तर, निकाय भने कानमा तेल हालेर बसेको छ। अब पनि ब्रोकरहरुलाई आफ्नै टीएमएस चलाउने बाटो नखुलाएमा बजारका साथै लगानीकर्ताको सम्पत्तिमा नै असर हुने किसिमको घटना नहोला भन्न सकिन्न।’