-भक्तराज रसाइली
काठमाण्डौ । लामो समयदेखि परेको गाँठो र अन्यौलता हटेसँगै एक ब्रोकर कम्पनीले नेपाल राष्ट्र बैकमार्फत  मार्जिन ट्रेडिङको स्वीकृति पाएको छ ।

मार्जिन कारोबार सञ्चालनको माग गर्दै नेप्सेमा आवेदन दिएका १४ ब्रोकर कम्पनीमध्ये ब्रोकर नम्बर ५० को क्रिष्टल कञ्चनजंघा सेक्युरिटीज प्रा.लि.ले अनुमति पाएको हो ।

चैत १४ गते नेपाल राष्ट्रबैंकले एक सर्कुलर जारी गर्दै धितोपत्र व्यवसायीलाई नेप्सेको सिफासिमा नेपाल राष्ट्रबैंक ऐन, २०५८ को दफा ७६ मा भएको  व्यवस्थाबमोजिम राष्ट्र र्बैंकले नै स्वीकृति प्रदान गर्ने व्यवस्था गरेसँगै मार्जिन कारोबारका विषयमा लामो समयदेखिको अन्यौल  हटेको थियो ।

ब्रोकर कम्पनी क्रिष्टल कञ्चनजंघा सेक्युरिटीज प्रा.लि.का सञ्चालक प्रियराज रेग्मीले राष्ट्रबैंकको अनुमति पाएको पुष्टि गर्दै मार्जिन कारोबारका लागि भेण्डर कम्पनी परिचालन गरी प्रणाली तयारी गर्न जुटेको बताए । 

सर्टटम कारोबारीले २ देखि अढाई महिना समयावधिका लागि आफ्ना ब्रोकरमार्फत मार्जिन सुविधा लिए त्यो उपयुक्त हुने रेग्मी दाबी गर्छन् ।

रेग्मीले बिजशालासँग कुरा गर्दै भने–‘हामीले वाणिज्य बैंकबाट ऋण सापटी लिई व्यवस्थापन र सञ्चालन खर्च समेत जोडी ब्याज लगाउँदा लगभग फाइनान्स कम्पनी सोसरहकै पर्न सक्नेछ ।’ 

यसको अर्थ १६ प्रतिशत आसपास हुन जाने र यो प्रत्येक त्रैमासमा बजारको अवस्थाअनुसार परिवर्तन हुनसक्नेछ ।

रेग्मीले आफ्नो कम्पनीबाट यो सुविधा(सेवा) आगामी २ हप्ताभित्रबाट सुरु हुनसक्ने अपेक्षा रहेको बताए । 

सेयर खरिद गर्दा दीर्घकालीन लगानीका लागि आवश्यक लगानी भने आफैं व्यवस्था गर्न उनले लगानीकर्तालाई आह्वान गरे ।  

विशेषतः छोटो समयका लागि वित्तीय व्यवस्थापन होस् भन्ने उद्देश्यले छिटोछरितो र सहज ढंगबाट मार्जिन कारोबारका लागि अनुमति पाएका ब्रोकर कम्पनीबाट यस किसिमको सुविधा लगानीकर्ताहरुले पाउन लागेका हुन् ।

उता, ब्रोकरहरुबाट मार्जिन कारोबार सुरुवातको तयारी तीव्र गतिमा अगाडि बढिरहँदा राफसाफ प्रणालीका लागि आवश्यक पूर्वाधार तयार भइसकेको सिडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

ब्रोकर कम्पनीले आफ्ना ग्राहकहरुलाई नेप्सेले आज सार्वजनिक गरेका ३१ कम्पनीका धितोपत्र खरिदका लागि धितोपत्रको कुल मूल्यको निश्चित प्रतिशत रकम ऋणको रुपमा उपलब्ध गराउने छ ।