– अनन्त्य सुन्दर

काठमाण्डौ । कोरोना महामारीसँगै अधिकांश व्यवसाय ठप्प भयो। अन्य व्यवसाय ठप्प हुँदा अधिकांशले सेयर बजारमा लगानी यात्रा सुरु गरे। बजारमा एकाएक ठूलो पुँजीको लगानी, दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या, नयाँ तथा ठूला कम्पनीहरुका आईपीओ निष्कासन हुँदा बजारले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गयो।

नेप्से परिसूचक झन्डै ३२०० को उच्चतम विन्दु पुग्दा बजारमा करिब २२ अर्बको कारोबारसमेत भएको थियो। बजारमा २०–२२ अर्बको कारोबार हुँदा सबैभन्दा बढी मालामाल ब्रोकर सञ्चालकहरु भएका छन्। 

कोरोना कहरको लकडाउन ब्रोकर व्यवसायीहरुका लागि ‘पिक सिजन’ बन्न पुग्यो। तर, ब्रोकर सञ्चालकहरुले मनग्गे नाफा कमाउँदै गर्दा अधिकांश ब्रोकरका कर्मचारीको हात भने खाली नै रहेको गुनासो सुनिन्छ।

बोनस ऐन २०३० को दफा ५ को ‘मुनाफा गर्ने प्रतिष्ठानले बोनस बाँड्नुपर्ने’ शीर्षकमा प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको १० प्रतिशतबराबरको रकम कर्मचारीलाई बोनसबापत छुटाउनु पर्छ भनिएको छ। तर, ब्रोकर कम्पनीले मनग्गे नाफा कमाउँदा बोनसमात्र नभएर सरकारको तोकेको न्यूनतम पारिश्रमिक नपाएको ब्रोकरमा कार्यरत कर्मचारीहरुको गुनासो छ।

त्यसका साथै श्रम ऐन २०७४ मा समान मूल्यको कामका लागि पारिश्रमिकमा भेदभाव गर्न नहुने, कर्मचारीलाई ट्रेड युनियन गठन गर्न, सञ्चालन गर्न र संलग्न हुन् पाइने, रोजगारी सम्झौता नगरी काममा लगाउन नहुनेलगायतको विषय उल्लेख गरिए पनि अधिकांश ब्रोकरहरुले त्यसअनुरुप सेवासुविधा नदिएको गुनासो छ।

ब्रोकरका कर्मचारीहरु भने बेलाबखत आफ्नो गुनासो लिएर नेपाल धितोपत्र बोर्ड, नेप्से, सेबोन लगायतमा जाने गरेका छन्। तर, नियामक निकायहरुले भने कर्मचारीहरुको गुनासो नसुनेझैँ गर्दै आएको उनीहरुको भनाइ छ।

‘विगतका दिनहरुमा पनि ब्रोकर हाउसमा कार्यरत हामी कर्मचारीले सरकारले निर्धारण सेवासुविधाबाट वञ्चित हुँदै आएका थियौँ। त्यसैले आजभन्दा झन्डै ८ वर्षअघि ब्रोकरका कर्मचारीहरु संगठित भएर एउटा युनियन खोलेको थियौँ’, एक ब्रोकरमा कार्यरत कर्मचारी भन्छन्, ‘युनियन खोलेर घर नपुग्दै साहुहरुको फोन आउन थाल्यो। उक्त युनियनमा संलग्न कति कर्मचारीलाई आजको भोलि नै कामबाट निकाल्यो। त्यसपछि भने युनियन र युनियनको अस्तित्व सधैँका लागि बन्द भयो।’

‘हामी अधिकांश ब्रोकर हाउसमा कार्यरत कर्मचारीहरु सुरुआतदेखि नै मर्कामा पर्दै आएका छौँ। अहिले हामीले हाम्रो गुनासो पोख्ने सबै ढोकाहरु बन्द छन्’, ती कर्मचारीले भने, ‘बोर्ड, नेप्सेमा उजुरी दिन जाँदा हामी गेटबाट निस्किने बित्तिकै हाम्रा साहुहरुलाई फोन घुमाइन्छ। बोर्डबाट निरीक्षण गर्ने टोली निस्कँदैछ ! भन्ने जानकारी सबैभन्दा पहिला ब्रोकर सञ्चालकलाई नै आउँछ। हाम्रो पीडा सुन्दिने न हाम्रा सञ्चालक नै छन् न त नियामक नै। लिखित सम्झौता नभएकाले हामीले युनियन खोलेर विरोध गर्दा कहिले कामबाट निकाल्दिने हुन् अत्तोपत्तो हुँदैन।’

‘हाम्रा साहुहरुले करोडौँको गाडी खरिद गर्दैगर्दा हामीसँग पेट्रोल हाल्ने पैसासमेत हुँदैन’, गुनासो गर्दै ती कर्मचारीले भने, ‘कतिपय कर्मचारीहरुको अहिलेको तलबले घरखर्च चलाउन नै गाह्रो हुन्छ।’

सञ्चालनमा भएका ब्रोकरहरुमध्ये ५ प्रतिशत ब्रोकरले आफ्नो कर्मचारीलाई राम्रो पारिश्रमिकका साथै सेवासुविधा दिएको हुन सक्ने अर्को एक ब्रोकरमा कार्यरत एक कर्मचारीले बताए। ‘बाँकीले भने तलब बढाउँछु, बोनस दिन्छु भन्दै आलटाल गर्दै आएका छन्’, ती कर्मचारीले भने, ‘कुनै ब्रोकरमा चिया पकाउने कर्मचारीले ५ लाख बोनस थाप्दै गर्दा हामीले भने बोनस कस्तो हुन्छ भन्ने अहिलेसम्म देख्न पाएका छैनौँ। अहिले त ब्रोकरहरुलाई सजिलो छ। भर्खरै कलेज पढ्दै गरेका विद्यार्थीलाई ३–४ महिनाको बेतलब इन्टर्न राख्ने अनि काम चलाउने। इन्टर्न नहुँदा मामा, भान्जा, भतिजी राखेर काम चलाउँदै आएका ब्रोकर पनि छन्। त्यसैले हामीले सञ्चालकका विरुद्ध आवाज उठाउँदा कहिले जागिर चैट हुन्छ भन्ने टुंगो नै हुँदैन।’

सञ्चय कोष भनेर पैसा काटिए पनि त्यो पैसा कोषमा जम्मा नहुने गरेको ती कर्मचारीले गुनासो गरे। ‘हिजो कोठामा बसेर ब्रोकर सुरु गरेका साहुहरु आज करोडौँको मालिक बनेका छन् तर हामी कर्मचारीलाई भने अहिलेको महँगीमा बिहान बेलुकाको गुजारा चलाउन नै गाह्रो छ’, ती कर्मचारी भन्छन्, ‘हाम्रो जागिर एउटा किराना पसलमा काम गर्नेको जस्तै छ। आज छ, भोलि के हुन्छ भन्ने टुंगो छैन। हामीलाई हाम्रा सञ्चालकले लिमिट दिएर सेयर कारोबार त गर्न दिएका छन्। तर, सेयरबाट बढ्दो बजारमा मात्र कमाइन्छ। बाँकी समय भने घाटा व्यहोर्दै, ब्याज तिर्दै ठिक्क हुन्छ।’

‘कुनै संस्थामा काम गरिरहेका कर्मचारी नै सन्तुष्ट छैनन् भने कसरी राम्रो सुविधा दिन्छन् ?’, अर्को एक ब्रोकरमा कार्यरत एक कर्मचारीले प्रश्न गर्दै भने, ‘कर्मचारीलाई राम्रो सेवा दिने ब्रोकरका ग्राहकहरु सेवासुविधाबाट सन्तुष्ट छन्। १० देखि ६ बजेसम्म अफिसमा पेलाउने तर सेवासुविधा भने केही नदिँदा कर्मचारीले फोन नउठाउनु, झर्केर ग्राहकसँग कुरा गर्नु, समयमा सेटलमेन्ट नगर्नु स्वाभाविक हो।’

अहिलेको बजारमा ब्रोकरहरुको सिन्डिकेट रहेको ती कर्मचारीको भनाइ छ। ‘हातमा गनिने ब्रोकरले कर्मचारीलाई सेवासुविधा राम्रो दिएका छन्। बाँकी ब्रोकरहरुले भने श्रम शोषण गर्दै आएका छन्’, ती कर्मचारीले भने, ‘नियामक निकायले यसैगरी कानमा तेल हालेर ब्रोकरको साहुहरुको मात्र कुरा सुन्ने हो भने भोलि कुनै ब्रोकरको कर्मचारीबाट पुँजी बजारमा इतिहासको नै ठूलो घटना नहोला भन्न सकिन्न।’

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली ब्रोकर सञ्चालकहरुलाई ब्रोकरमा कार्यरत कर्मचारीलाई आवश्यक सेवासुविधा दिनुपर्छ भनी विभिन्न फोरमहरुमा आफूहरुले ब्रोकरका सञ्चालकहरुलाई अनुरोध गर्दै आएको बताउँछन्। ‘हामी आफैँ नयाँ प्रडक्ट, सेवा थप्नु पर्ने माग राख्दै आएका छौँ’, मैनालीले भने, ‘अहिलेको नै व्यवस्थालाई निरन्तरता दिँदा भोलि हामीलाई नै काम गर्न गाह्रो हुन्छ। त्यसैले पनि सञ्चालकहरुले आफ्नो कर्मचारीको योग्यता र क्षमता विकासमा ध्यान दिन आवश्यक छ।’

‘लामो समयसम्म घाटामा रहेका ब्रोकरले विगतको वर्षमा केही प्रतिशत नाफा कमाएका छन्। त्यसैले हामीले सञ्चालकहरुलाई श्रम ऐन, बोनस ऐनअनुसार नै कर्मचारीहरुलाई सेवा सुविधा दिन सुझाव दिँदै आएका छौँ’, मैनालीले भने। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)का पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको कार्यकालमा पनि बोर्डमा ब्रोकरहरुले समयमा तलब नदिने, सेवा सुविधा नदिनेजस्ता गुनासो आएको सेबोनका कार्यकारी निर्देशक निरज गिरी बताउँछन्। ‘निरीक्षणमा जाँदा पनि बोर्डको निरीक्षण टोलीले ब्रोकर अव्यवस्थित भेटिएकाले बोर्डले ब्रोकरहरुलाई कर्मचारी नियुक्तिपत्र, ड्रेस कोडलगायतको निर्देशन दिएको थियो’, उनले भने, ‘अहिले फेरी ब्रोकरमा कार्यरत कर्मचारीहरुको गुनासो आउने गरेकाले सुपरिवेक्षण विभागलाई जानकारी गराएर निरीक्षण अगाडि बढाउँछौँ।’