काठमाण्डौ । कोभिड महामारी सुरु भएपछि बन्द गरिएका ब्रोकर हाउसका डिस्प्ले अझै खुलेका छैनन्।

कोभिडको प्रभाव कम भइसक्दा पनि नियामक निकायले आनकानी गर्दा बन्द रहेका ब्रोकर हाउसका डिस्प्ले अझै खुल्न नसकेको लगानीकर्ताहरुको आरोप छ। डिस्प्ले नखोलिँदा ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति कम हुँदै गएको र यसले कारोबार प्रभावित भइरहेको उनीहरुको भनाइ छ। 

अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) मा भेटिएका लगानीकर्ता सन्दीप महर्जनले कोभिडको प्रभाव कम भएसँगै सबैतिर सामान्य हुँदा पनि नियामकले डिस्प्ले नखोलिदिनु लगानीकर्तामाथिको अन्याय भएको बताए। ‘अहिले सपिङ मलदेखि फिल्म हलसम्म खुलेका छन्’, उनले भने, ‘ब्रोकर हाउसमा आएर कारोबार गर्दा सेयर बजारमा अहिले घटेको कारोबार पनि बढ्न सक्छ।’

सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९) मा भेटिएका लगानीकर्ता लक्ष्मण श्रेष्ठ पनि नियामक निकायले डिस्प्ले नखोल्नु अनौठो भएको प्रतिक्रिया दिए। ‘डिस्प्ले खोले साथीभाइसँग पनि भेट हुन्छ, घरमा एक्लो महसुस भइरहेको छ’, उनले भने, ‘ब्रोकर हाउसमै गएर गफ गरेर डिस्प्ले हेरेर कारोबार गर्नुको मज्जा  नै बैग्ले हुन्छ।’

नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक निजर गिरीले अब ब्रोकर हाउसका डिस्प्ले खोल्न दिने तयारी भइरहेको बताए। ‘यस विषयमा नेप्सेले अध्ययन गरिरहेको छ’, उनले भने, ‘अहिले डिस्प्ले खोल्न दिँदा फाइदा तथा बेफाइदा के–कति हुन्छन् ? सबै विषय केलाएर निचोडमा पुग्छौँ।’

डिस्प्ले खोल्न धितोपत्र बोर्ड सकारात्मक रहेको र छिटै निर्णय गरिने गिरीले बताए। 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले धितोपत्र बोर्डले निर्देशन दिनेबित्तिकै ब्रोकर हाउसका डिस्प्ले खुल्ने बताए। 

उता ब्रोकरहरुले पनि धितोपत्र बोर्डले निर्देशन दिएमा आफूहरुलाई डिस्प्ले खोल्न कुनै कठिनाइ नभएको बताउँदै आएका छन्।