-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले सेयर कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन घटाउने गृहकार्य थालेको छ । 

धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले ब्रोकर कमिसन घटाउने गृहकार्य थालेको हो । नेप्सेले रेञ्ज तोकेर ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डमा सिफारिस गर्न लागेको छ । 

नेप्सेस्थित उच्च स्रोतका अनुसार सेयर खरिदबिक्री गर्दा ब्रोकरहरुले लिने कमिसनको अधिकतम सीमा तोकिनेछ भने न्यूनतमको हकमा निःशुल्क नै गरिदिनसक्ने व्यवस्था पनि गरिनेछ । यसले ब्रोकरहरुबीच सस्तोमा सेवा दिने होडबाजी चल्ने विश्वास गरिएको छ ।  

न्यूनतम जति पनि कमिसन शुल्क लिन पाइने र ब्रोकरले चाहे कसैको सेयर कारोबार कमिसन नै नलिई पनि गर्नसक्ने व्यवस्थाबाट सुरुमा ब्रोकरहरुलाई केही अप्ठ्यारो परे पनि कालान्तरमा फाइदा हुने स्रोतको तर्क छ ।

हाल ब्रोकर कमिसन ०.६ प्रतिशतसम्म रहेको छ । तर अब नेप्सेले कमिसनको अधिकतम सीमा घटाएर ०.४ प्रतिशतमा झार्ने सुझाव बोर्डमा पेश गर्दैछ । निःशुल्कदेखि अधिकतम ०.४ प्रतिशतसम्म कमिसन लिन पाइने व्यवस्था हुन लागेको हो ।   

कमिसन रकम घटेपछि ब्रोकरहरु बीच नै प्रतिस्पर्धात्मक क्षमता बढ्ने स्रोतको भनाइ छ । 

यसबाट  लगानीकर्ताहरु कमिसन कम भएको ब्रोकरमार्फत सेवा लिन लालायित हुनेछन् ।  

यसबाट प्रत्यक्ष रुपमा लगानीकर्तालाई नै धेरै फाइदा हुने र ब्रोकर कम्पनीहरुले प्रतिस्पर्धात्मक सेवाकै कारण पूँजीबजार विकास र विस्तारमा सघाउ पुग्ने नेप्सेका अधिकारीहरुको दाबी छ । 

सेबोनको निर्देशनमा नेप्सेले कमिसन घटाउन सुझाव दिएपछि बोर्डले  धितोपत्र व्यवसायी(धितोपत्र दलाल,धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली ,२०६४ लाई संसोधन गरी नयाँ व्यवस्था लागू गर्नेछ । 

नेप्सेले गर्न लागेको कमिसनको नयाँ मोड्युलमा बोर्डका अधिकारीहरुको समेत सहमति रहेको स्रोत दाबी गर्छ ।