काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ दोस्रो दिनसम्म १२ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले हिजो भदौ ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो। सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ। 

यसैगरी ५ प्रतिशतले हुन आउने ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी ७ लाख १२ हजार २२० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरिएको छ। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा ७ लाख ७२ हजार ३५४ आवेदकबाट कुल ८६ लाख ६० हजार १५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १२.१६ गुणाले बढी हो। 

मागभन्दा बढी अवावेदन परेकै कारण यो आईपीओ पनि गोलाप्राथबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

यो आईपीओमा नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सकिनेछ। यो आईपीओको निष्कासन बन्द भदौ ८ गते हुनेछ। 

भगवती हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।