काठमाण्डौ । फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ आगामी भदौको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले ५ दिनसम्म एक्स्पो सञ्चालन गर्ने जनाएको हो । 

संघको आयोजनामा विगत ६ बर्षदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो आयोजना हुँदै आएको छ । सातौं संस्करणको एक्स्पो आगामी भदौ २५ गते बुधबारदेखि २९ गते आइतबारसम्म राजधानीमा संचालन हुने आयोजकले जानकारी दिएको हो । 

बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामाग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ । 

यस्तै, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामाग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताए । 

प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने मेलाका संयोजक मनिष अग्रवालले बताए । 

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्नेेछ । 

पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

नेपालमा वर्षेनी फर्निचर तथा फर्निसिङका उत्पादनहरुको ४० अर्ब रुपैंया बराबरको कारोबार हुने गरेको आँकलन छ । जसको झण्डै ५० प्रतिशतभन्दा बढी विदेशी फर्निचर आयात भइरहेको छ ।