काठमाण्डौ । प्राइम बैंकले आफ्ना सेयरधनीलाई ३ बराबर एकको अनुपातमा(३३.३३ प्रतिशत) हकप्रद दिने भएको छ । केही समयअघि सबै निकायबाट स्वीकृत हकप्रदको निश्कासन कार्य आगामी भदौ १२ गतेदेखि थालिने बैंकले बिहीबार सूचना प्रकाशन गरेर जनाएको छ । 

सूचनाका अनुसार हकप्रदका लागि आवेदन दिने समय ३५ दिन राखिएको छ, अर्थात असोज १६ गतेसम्म सेयरधनीले आवेदन दिइसक्नुपर्नेछ । 

प्राइम कमर्सियल बैंकले १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद निश्कासन गर्नेछ । 

हकप्रदका लागि बुक क्लोजको मिति साउन १९ तोकिएको छ । यसको अर्थ, साउन १८ भित्र प्राइम कमर्सियल बैंकको सेयर आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

प्राइमको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि सिभिल क्यापिटल मार्केट्स लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

प्राइमका सेयरधनीले काठमाण्डौको कमलादिस्थित सिभिल क्यापिटलको मुख्य कार्यालय, प्राइम कमर्सियल बैंकको मुख्य कार्यालय र देशका विभिन्न भागमा रहेका सबै शाखा कार्यालयबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७२ ७३ मा १ अर्ब १२ करोड खूद नाफा आर्जन गरेको छ । यो बंैकको चुक्तापूँजी ३ अर्ब ७० करोड रहेको छ । ३३.३३ प्रतिशत हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी ४ अर्ब ९३ करोड पुग्नेछ । 

प्राइम कमर्सियल बैंकले हालै विराटलक्ष्मी विकास बैंक र कन्टी डेभलपमेन्ट बैंकलाई खरीद गर्ने सम्झौता गरेको छ । प्राइम बैंकको पछिल्लो प्रति सेयर बजार मूल्य ६७० रुपैयाँ रहेको छ ।