काठमाण्डौ । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको करिब १ क्विन्टल सुन बरामद भएको छ।

घटना मंगलबार राति १० बजेको हो। हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरका ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन भन्सार कटेर सिनामंगलको सडकसम्म पुर्याइसकेको अवस्थामा बरामद गर्न सफल भएको हो। 

आठवटा कार्टुनमा ल्याइएका स्कुटरका १६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । तिनै ब्रेक सुनको नाममा भन्सार कार्यालयले निर्वाध रुपमा सुन पास गरिदिएको थियो।

ती कार्टुनको कुल तौल १५४ केजी उल्लेख छ। यस आधारमा करिब १ क्विन्टल सुन हुनुपर्छ भन्ने अनुमान राजस्व विभागको छ। ‘सामान जाँच गर्ने स्क्यानरले कसरी पत्ता लगाएन ? सम्भावित सेटिङबारे अनुसन्धान हुँदैछ’, राजस्व विभागको एक अधिकारीले भने। 

ती अधिकारीले विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुको पनि मिलेमतो हुन सक्ने आशंका व्यक्त गरे। ‘उनीहरुसँग पनि अनुसन्धान हुन्छ’, ती अधिकारीले भने। 

नेपालमा एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना हो। यसअघि २०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट बरामद भएको थियो। 

राजस्व अनुसन्धान विभागले सुन बरामद गर्नुका साथै केहीलाई पक्राउ गरिएको जनाएको छ। ‘यो घटनाबारे थप अनुसन्धान भइरहेको छ’, ती अधिकारीले भने। 

त्यसो त ‘रेडी ट्रेडर्स प्रालि’का नाममा विमानस्थल भन्सारले जाँचपास हुन लागेको सामान शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो । ‘जाँचपासपछि सुन लिएर ट्याक्सीबाट बाहिरिएका दुईजना सिनामंगलमा समातिएका हुन्’, ती अधिकारीले भने, ‘पछि तीनजनालाई पक्राउ गरिएको छ।’ 

घटनाको थप अनुसन्धान भइरहेकोले औपचारिक रुपमा सार्वजनिक गर्न अझै केही दिन लाग्ने ती अधिकारीले बताए।