काठमाण्डौ। नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा प्रतिनिधिमण्डलले बिहीबार भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई भेटी भन्सार सहजीकरण गर्न आग्रह गरेको छ। 

नाडाको ६ सदस्यीय प्रतिनिमिण्डलले भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देशिकालगायतका विभिन्न विषयमा छलफल गर्दै महानिर्देशक सापकोटासँग यस्तो आग्रह गरेको छ। 

भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताए। उनले नाडा र भन्सार विभागबीच सूचना आदानप्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढने विषयमा लिखित समझदारीसमेत भइसकेको जानकारी गराए। 

छलफलमा महासचिव सुनिल रिजालले एचएस कोड परिवर्तन र साफटा सुविधाअन्तर्गत आउने अटोमोबाइल वस्तुहरुको वर्गीकरणमा स्पष्टता हुनुपर्ने बताए। कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एलसी खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरुमा पर्ने समस्याहरुबारे जानकारी गराए। 

छलफलमा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरुका लागि सहजीकरण गरिने बताए। व्यवसायीहरुका लागि अनलाइन पेमेन्ट र भेहिकल स्क्यानरको व्यवस्थासमेत गरिने उनले जानकारी दिए। 

महानिर्देशक सापकोटाले भन्सार विभागले अब ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइलसमेत तयार गर्न लागेको उल्लेख गर्दै यसबाट व्यवसायीहरुलाई सहज हुने विश्वास लिएको बताए। 

छलफलमा नाडाका सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य शुभआसिस थपलिया तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति थियो।