काठमाण्डौ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। 

आइतबार १३ औँ नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको बजेट प्रस्तुत गरेका हुन्। महानगरले आगामी वर्ष आन्तिरिक आय एक अर्ब ७५ करोड हुने प्रक्षेपण गरेको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजश्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, सडक बोर्ड नेपालबाट ३ करोड र बैंक मौज्दात १ अर्ब ६५ करोड रहने प्रक्षेपण महानगरको छ।  

यसैगरी अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रुपैयाँ रहने प्रक्षेपण गरेको अधिकारीले जानकारी दिए। आगामी वर्ष सहरी पूर्वाधार, भूउपयोग तथा वस्तीविकास र अधुरा योजनाहरुको निरन्तरता, कृषि तथा पशुपालन, शिक्षा विकास, नियमित सडक मर्मत सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाइ एवं हरियाली निर्माण, सूचना प्रविधि तथा डिजिटल प्राणालीको उपयोग, सहकारी तथा रोजगार प्रवर्द्धन, पर्यटन तथा उद्योग र वाणिज्य प्रवर्द्धनजस्ता कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखिएको छ। 

उता विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। 

महानगरपालिकाको १२ औँ अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन्। स्रोत सुनिश्चितताका आधारमा आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको तुलनामा केही सानो ल्याइएको छ। चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको थियो। 

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँटबाट प्राप्त राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आय तर्फ ९९ करोड ५० लाख, जनसहभागिता तर्फ १० करोड, आन्तरिक ऋण तर्फ रु.१० करोड, अन्य संघ–संस्थातर्फ ३ करोड र नगद मौज्दात बापत २ करोड आय हुने अनुमान गरिएको उपप्रमुख कार्कीले जानकारी दिइन्। 

व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार मध्ये स्वास्थ्य तर्फ १३ करोड ६७ लाख र शिक्षा तर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपत व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ।

आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनाका लागि २० करोड, बहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड, आरयूडीपीबाट निर्माण भएका लगायतका पिच सडकहरू समेत गरी मर्मतसम्भार १० करोड, सडकबत्तीतर्फ १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्र, २ करोड ६५ लाख र समपुरक कोषका लागि २ करोड विनियोजन गरेको छ।