काठमाण्डौ । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीका शरीरका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेपछि भेन्टिलेटरमा राखेर बचाउने अन्तिम प्रयास भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । 

उनको गत तीन सातादेखि काठमाण्डौको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । 

उपचारमा संलग्न चिकित्सकमध्येका एक भास्करराज पन्तले शनिवार अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा बताए अनुसार अधिकारीको सबै महत्वपूर्ण अंगहरुले काम गर्न छाडेका छन् । बचाउने अन्तिम प्रयास स्वरुपम कृत्रिम श्वासप्रश्वासका लागि अस्पतालले उनलाई भेन्टिलेटरमा राखेको छ । 

‘२४ घण्टादेखि पिसाब भएको छैन । रक्तचाप बढाउने औषधि चलाउनु परेको छ।’ पन्तले पत्रकार सम्मेलनमा भने–‘उहाँलाई बचाउन सक्ने संभावना न्यून छ । अब आशा गर्न सकिने अवस्था छैन ।’

ह्याम्सका मेडिकल डाइरेक्टर समेत रहेका पन्तले जारी गरेको विज्ञप्तिमा चिकित्सा विज्ञानअनुसार संभव सम्पूर्ण उपचार विधि अपनाउँदा समेत अधिकारीको स्वास्थ्य अवस्था विगत केही दिनदेखि खस्किदो स्थितिमा रहेको बताइएको छ । ‘उहाँलाई बचाउन सक्ने संभावना न्यून देखिन्छ । र, अहिलेको यस दुखद घडीमा उहाँलाई सजिलो बनाउने उपचार गरिरहेका छौ ।’–विज्ञप्तिमा भनिएको छ । 

फोक्सो र मुटुमा समस्या भएपछि अधिकारी तीन साताअघि अस्पताल भर्ना भएका थिए । पहिला उनी मेडिसिटी अस्पतालमा भर्ना भए पनि त्यहाँ उपचारमा लापरबाही भएपछि ह्याम्स अस्पताल सारिएको थियो ।