– अर्जुन तिमिल्सिना

काठमाण्डौ । निरन्तर बढेको सेयर बजारमा केही दिनयता करेक्सन आइरहेको छ। कारोबार रकम पनि ह्वात्तै घटेपछि बजारमा अहिले अनेक थरीका अड्कलबाजी चलिरहेका छन्।

केही बजार जानकारले छोटो समयमा बजार निकै बढेकोले अहिलेको बजार घटाइ सामान्य करेक्सनमात्रै भएको बताउँदै आएका छन्। अन्य क्षेत्र ठप्प रहेकोले सेयर बजारबाटै पैसा झिकेर बैंकको ब्याज तथा घरव्यवहार मिलाउनुपर्ने अवस्था रहेकोले पनि बजारमा केही दबाब सिर्जना उनीहरुको तर्क छ। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट अहिलेको बजार ३००० माथि पुग्नु कुनै आश्चर्य नभएको बताउँछन्। ‘किनकि हाम्रो नेप्से इन्डेक्समै केही त्रुटि छ, जस्तो– बजार पुँजीकरणमा कारोबार नै नहुने संस्थापक सेयर पनि समावेश हुनु त्रुटिपूर्ण हो’, उनले भने। 

अहिले केही कम्पनीको मूल्यले मात्रै बजार इन्डेक्स माथि लगेको रानाभाटको भनाइ छ। ‘जस्तै– नेपाल पुनर्बीमा कम्पनी। १०० रुपैयाँमा कारोबार भएर यो कम्पनीको मूल्य १ हजार ९०० रुपैयाँसम्म पुग्यो’, उनले भने, ‘त्यस्तै ठूलो मार्केट क्यापिटलाइजेसन भएका निफ्राजस्ता नयाँ कम्पनीले बजार इन्डेक्स माथि लगेका छन्। होइन भने धेरैजसो कम्पनीको सेयरमूल्य अहिले पनि नेप्से १८८१ को विन्दुमा पुग्दाताकाकै अवस्थामा छ। उदाहरणका लागि केही बैंकका सेयरमूल्यलाई हेर्न सकिन्छ।’

यो हिसाबले सेयर बजार बढ्न बाँकी नै रहेको रानाभाटको तर्क छ । ‘बजारमा नयाँ कम्पनी आउँदा नेप्से इन्डेक्स ५–६ हजार हुनु कुनै नौलो हुन्न’, उनले भने। 

हरेक बुलमा लगानीकर्ता आँखा चिम्लेर कमजोर वित्तीय अवस्था भएका कम्पनीहरुका सेयर किन्ने गरेको रानाभाट बताउँछन्। ‘जसका कारण कमजोर वित्तीय अवस्था भएका कम्पनीको सेयरभाउ पनि अचाक्ली बढेका छन्, यस्तो हुँदा लगानी जोखिममा पर्न सक्छ’, उनले भने, ‘अहिलेको बुलमा त झनै सबैको हातमा टीएमएस पुग्यो, त्यसैले हामीले लगानीकर्तालाई सचेत गराउने अवस्थासमेत छैन।’ 

अरुले भनेकै भरमा वा अन्दाज गरेकै भरमा लगानीकर्ता धमाधम लगानी गर्दा केही कमजोर वित्तीय अवस्था भएका कम्पनीको सेयरभाउ पनि उकालो लागेको रानाभाटको भनाइ छ।