काठमाण्डौ । अचाक्ली बढेको तरकारीको भाउ हिजोआज ४० प्रतिशतसम्म घटेपछि नेपालीको भान्सा केही सस्तिएको छ ।
पछिल्लो समय निकै महँगिएको सुकेको प्याजको मूल्य हिजोआज २७ प्रतिशतले घटेको छ । गत मंसिर २२ गते प्रतिकेजी २२५ रुपैयाँ खुद्रा मूल्य रहेकोमा पुस २२ गते १६५ रुपैयाँमा झरेको छ ।
यसअवधिमा नेपालीको भान्सामा अत्याधिक प्रयोग हुने सानो गोलभेडा (टनेल) पनि १३.३३ प्रतिशतले घटेको छ । एक महिनाअघि प्रतिकेजी ७५ रुपैयाँ रहेको सानो गोलभेडाको खुद्रा मूल्य ६५ रुपैयाँमा झरेको छ । यो अवधिमा ठूलो गोलभेडा (नेपाली र भारतीय) स्थिर रहँदै प्रतिकेजी खुद्रा मूल्य ९५ रुपैयाँ रहेको छ ।
यसैगरी बन्दा, काउली, मूलाको खुद्रा मूल्य पनि २५ देखि ४० प्रतिशतसम्म घटेको छ । गत महिना प्रतिकेजी क्रमशः ७५, १२५ र ७५ रुपैयाँमा पर्ने बन्दा, काउली र मूला अहिले ८५, ४५ र ९५ रुपैयाँमा पाइन थालेको छ ।
गत महिनाको तुलनामा भान्टा लाम्चो र डल्लो भने ४६ प्रतिशतले बढेको छ। गत महिना प्रतिकेजी ६५ रुपैयाँमा पाइने भान्टा अहिले ९५ रुपैयाँ पुगेको छ। तिते करेला गत महिनाको तुलनामा ३८ प्रतिशतले बढ्दै प्रतिकेजी खुद्रा मूल्य १०५ रुपैयाँबाट १४५ रुपैयाँ पुगेको छ ।
स्कुसको भाउ भने सर्वाधिक उचाइमा पुगेको छ । एक महिनाअघि प्रतिकेजी ३५ रुपैयाँमा पाइने स्कुस ११४ प्रतिशतले बढ्दै ७५ रुपैयाँ पुगेको छ ।
हरियो खुर्सानी, लुसन, धनियाँ, अदुवाको भाउ पनि गत महिनाको तुलनामा १५ प्रतिशतदेखि ३७ प्रतिशतसम्म घटेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19