काठमाण्डौ । आगामी ९–१० नोभेम्बरमा पाकिस्तानमा हुने तय भएको १९ औं सार्क शिखर सम्मेलनको बिषयलाई लिएर केही सदस्य राष्ट्रबीच भाँडभैलो सुरु भएको छ । यस्तो भाँडभैलोको मुख्य योजनाकार चाहि भारत रहेको आरोप लगाइएको छ । 

पाकिस्तानसँग तनावपूर्ण सम्बन्ध रहँदै आएको भारतले मंगलबार इस्लामावादमा हुने १९ औं सार्क शिखरसम्मेलनमा आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीले सहभागिता नजनाउने स्पष्ट  पारेको छ । यसअघि भारतीय लविङकै कारण भूटान र बंगलादेशले समेत पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा आफ्नो देशको प्रतिनिधित्व नरहने बताइसकेका भारतीय मिडियाहरुले दाबी गरेका छन् । 

भारतको विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी नरेन्द्र मोदीले पाकिस्तानमा हुने भनिएको सार्क सम्मेलन बहिस्कार गर्ने स्पष्ट पारेको हो । १८ सेप्टेम्बरमा भएको उरी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ र यही कारण प्रधानमन्त्री मोदी सार्क सम्मेलनमा सहभागी नहुने यसअघिदेखि नै आशंका गरिएको थियो । 

भारत, बंगलादेश र भूटानले सार्क सम्मेलनमा सहभागिता नजाउने बिषयलाई भारतले आतंकवादको प्रवद्र्धक आरोपित पाकिस्तानलाई घेर्ने योजना सफल बन्दै गएको दाबी गरेको छ । स्रोतलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा जनाइए अनुसार सार्क सदस्य राष्ट्र अफगानिस्तानले समेत सम्मेलनमा सहभागिता नजनाउने स्पष्ट संकेत दिइसकेको छ । अफगानिस्तानले भन्दै आएको छ कि जुन देशले सार्क राष्ट्रबीचको एकता र शान्तिलाई बर्बाद गरिरहेको छ, त्यस्तो देशलाई सार्क सदस्यबाटै निलम्बित गर्नुपर्छ । तर, अफगानिस्तानलाई पाकिस्तानविरुद्ध बिष बमन  गराउने भूमिका पनि भारतले नै खेलेको हुनसक्ने आशंका गरिन्छ । 

यसअघि २४ सेप्टेम्बरमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सम्मेलनको तयारी भइरहेको र यसमा सबै सदस्य राष्ट्रको सहभागिता रहने आफूले आशा गरेको बताएका थिए । सरिफले यस्तो भनाई त्यसबेला सार्वजनिक गरेका थिए, जतिबेला केही सदस्य राष्ट्रले यो सम्मेलन बहिस्कारको संकेत गरेका थिए । 

के गर्ला नेपालले ?
भारतको कुरामा आएर नेपालले पनि पाकिस्तानमा हुने सार्क सम्मेलनमा सहभागिता नजनाउने कुरा गरे अचम्म नमाने हुन्छ । कारण, नेपालका प्रधानमन्त्री प्रचण्ड समेत भारतीय योजनामै सत्तामा आएका हुन् । हालै भारत भ्रमणको क्रममा नरेन्द्र मोदीसँग विगतमा भारतविरुद्ध बोलेर आफूले गल्ती गरेको भन्दै माफी समेत मागेका भनी चर्चित प्रचण्डले भारतको कुरा सुनेर पाकिस्तानमा हुने सम्मेलनमा सहभागी नहुने निर्णय नगर्लान् भन्न सकिने एक परराष्ट्रविदले बताए । ‘तर नेपालका लागि पाकिस्तानमा हुने सम्मेलनमा सहभागी हुनु नै हित हुन्छ ।’ ती विज्ञले भने–‘भारतको इशारामा सबै सदस्य नाच्ने हो भने सार्क गठनको कुनै औचित्य रहँदैन ।’ 

के हो सार्क ?
सार्क आर्थिक र राजनीतिक संगठन हो । दक्षिण एशियाका ८ देशका आर्थिक र राजनीतिक संगठन हो सार्क । यसको सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको थियो । सुरुवातमा भारत, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स र भूटान सार्कका सदस्य राष्ट्र थिए । तर २००७ अप्रीलमा भएको सार्कको १४ औं शिखर सम्मेलनबाट अफगानिस्तानलाई पनि सार्क सदस्य राष्ट्रको रुपमा नियुक्त गरिएको थियो । 

सार्कले मुख्य रुपमा सदस्य राष्ट्रबीच अन्तराष्ट्रिय प्लेटफर्ममा साझा हितको सवालमा सहयोगका लागि एकीतृत पार्दै आएको छ । दक्षिण एशियाली देशबीच आर्थिक सहायता बढाउने र यो क्षेत्रको आर्थिक विकासलाई पनि तीव्र पार्ने उद्देश्यले समेत यो संगठन स्थापना गरिएको थियो ।