काठमाण्डौ । भारतले प्रतिबन्ध लगाएसँगै नेपालबाट प्रशोधित पाम आयलको निकासी बिहीबारदेखि ठप्प हुन पुगेको छ । कुल वस्तु निकासको २५ प्रतिशत हिस्सा ओगटेको प्रशोधित पाम आयलमा भारतले प्रतिबन्ध लगाएपछि नेपाली व्यवसायीहरु मर्माह भएका छन् ।
भारतले गत बुधबार अन्य देशबाट हुने प्रशोधित पाम आयलको आयातमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो । भारतको यो निर्णयले नेपाललाई ठूलो धक्का पुगेकै बेला पतञ्जलीका सहसंस्थापक एवं योगगुरु स्वामी रामदेवले यो भारत सरकारको एउटा ऐतिहासिक कदम भएको भन्दै समर्थन जनाएका छन् ।
रामदेवले भारतले यो कदम १० वर्षअघि नै चाल्नुपर्नेमा अहिले प्रतिबन्धको निर्णय गर्नु पनि सरहानीय नै रहेको बताएका छन् । भारतीय न्युज पोर्टल जी बिजनेससँग बिहीबारको अन्तर्वार्ता रामदेवले अन्य देशबाट प्रशोधित पाम आयल आयातमा रोक लगाउने निर्णयबाट भारतलाई थुप्रै फाइदा हुने बताए। ‘अब देशका हजारौँ मानिसलाई रोजगारी मिल्नेछ, पाम खेती गर्ने किसानले आफ्नो उपजको राम्रो भाउ पाउनेछन्’, उनले अन्तर्वार्तामा भनेका छन् ।
घरेलु खाद्यतेल उद्योगलाई राहात दिन भारत सरकारले अन्य देशबाट आयात हुने प्रशोधित पाम आयलमा रोक लगाउने निर्णय गरेको हो । अब केवल कच्चा पाम आयलमात्र निकासी हुने र त्यसलाई प्रशोधन गर्न यहाँका घरेलु उद्योगहरुको प्रयोग उचित तरिकाले हुने भारतको सरकारको विश्वास छ ।
स्वामी रामदेवले पनि भारतको यो निर्णयको समर्थन गर्दै अब भारतमै रहेका तेल प्रशोधन गर्ने उद्योगहरुलाई नयाँ जीवन पाउने दाबी गरेका छन् ।
स्वामी रामदेवले भारतमै पाम आयलको प्रशोधन हुन थालेमा अब करिब २५ हजार रोजगारी पाउने बताएका छन् । उनका अनुसार वार्षिक करिब ३० लाख टनभन्दा बढी कच्चा पाम आयल भारतमा प्रशोधित हुने दाबी पनि गरे। ‘अब प्रशोधन उद्योगहरुको क्षमता शतप्रतिशतले वृद्धि हुनेछ’, उनले भने ।
पाम खेती र प्रशोधनबाट भारत सरकारको राजस्व संकलन पनि वृद्धि हुने रामदेवको विश्वास छ । ‘पाम आयल आयातबाट भारतको अर्बौं पैसा अन्य देशमा गइरहेको थियो’, उनले भनेका छन्, ‘अब सबै बच्नेछ ।’
स्रोतकाअनुसार भारतले पाम तेल आयातमा रोक लगाउनुको मुख्य कारण मलेसियाले कस्मीर मामिलामा भारतले चालेको कदमको आलोचना र भारतको नयाँ नागरिकता बिधेयकमा जनाएको प्रतिक्रिया नै मुख्य कारण हो।
बुधबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले एक परिपत्र जारी गर्दै प्रशोधित पाम तेलको आयात सम्बन्धी प्रावधानमा खुला शब्दको साटो निषेधित शब्द थपेको जनाएको थियो ।
भारत सरकारको यो कदमले नेपालमा पनि नकारात्मक प्रभाव पारेको छ । अहिले नेपालबाट निर्यात हुने वस्तुमा पाम तेल पहिलो स्थानमा आउँछ ।
नेपालबाट निर्यात हुने वस्तुमा पाम तेलको हिस्सा २४.२५ प्रतिशत रहेको छ।नेपालबाट निर्यात हुने पाम तेलको बजारको सम्पुर्ण हिस्सा भारतले ओगटेको छ । चालु आबको पाचँ महिनामा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारत निकासी गरेको भन्सार विभागले जनाएको छ ।
नेपाल आफैंले पाम तेल उत्पादन भने गर्दैन । नेपालले इण्डोनेशियाबाट कच्चा तेल ल्याएर त्यसलाई प्रशोधित गरी भारमा निकासी गर्ने गर्दछ । भारतमा भन्दा नेपालमा पाम तेल आयात सस्तो भएकाले नेपाली व्यापारीले त्यसको फाइदा उठाउँदै अन्य देशबाट आयात गरेर भारतमा निर्यात गरी नाफा उठाउँदै आइरहेका थिए । भारतले आसियानका मुुलुुकबाट पाम तेल आयातमा भन्सार बढाएपछि त्यसको फाइदा नेपाललाई पुगेको थियो ।
तर, अब भारतको यो कदमले पाम तेल प्रशोधनमा संलग्न व्यापारीलाई व्यवसायलाई निरन्तरता दिन गाह्रो पर्ने देखिन्छ । व्यापारीकाअनुसार यो प्रतिबन्ध चाँडै हट्ने वातावरण नबने व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउन सक्ने जनाएका छन् । – एजेन्सीको सहयोगमा
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago