काठमाण्डौ । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ। 

काठमाण्डौको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले २ दिनदेखि प्याज ल्याएका छैनन्। कालीमाटी बजारमा दैनिक १०० मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मंगलबार कत्ति पनि प्याज नआएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए। ‘दैनिक औसत ९० देखि १०० मेट्रिन टनसम्म प्याज आउने गरेकामा २ दिनदेखि ठप्प छ। गत आइतबार ४७ मेट्रिकटन आएको र भएको मौज्दात सकिएपछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन’, उनले भने। 

यहाँ आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकामा भारत सरकारले गत शनिबारदेखि  ४० प्रतिशत भन्सार शुल्क बढाएपछि अहिले आउन छोडेको सूचना अधिकारी श्रेष्ठको भनाइ थियो। बेच्नका लागि नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ। ‘भएको मौज्दात सकियो। व्यापारीले ल्याउने कुरा हो, उतै (भारत) बाट पठाएका छैनन् भन्ने सुनेको छ’, उनले भने, ‘बेच्नलाई प्याज नै नभएपछि मूल्यसूचीमा नराखिएको हो।’

भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धि देखिएको छ। पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ। कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याजलक्षित बजार अनुगमन थालेको हो।

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले पछिल्लो ३ दिनदेखि प्याजको बजारमूल्य केन्द्रित अनुगमन भइरहेको बताए। ‘हामीले उपत्यकामा सबैतिर पुगेर अनुगमन गरिरहेका छौँ। आज पनि कीर्तिपुर, चोभार, बनेपालगायत क्षेत्रमा अनुगमन भइरहेको छ’, उनले भने, ‘अहिले हामीले मुख्यगरी प्याजका आयातकर्ता र गोदाममा अनुगमन गरिरहेका छौँ। व्यापारीले प्रतिकिलो रु. ४८ मा किनेको प्याज रु. ६८–७० सम्ममा बेच्ने गरेको अनुगमनबाट देखिएको छ।’

यसरी मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल अधिकतम रु. ३ लाखसम्म जरिवाना गर्ने गरेको महानिर्देशक ठाकुरले जानकारी दिए। 

भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो। त्यहाँको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको उक्त मन्त्रालयले जनाएको थियो। आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ।

यसअघि भारतले बास्मतीबाहेक अन्य चामल निर्यातमा बन्देज लगाएकाले नेपाली बजारमा चामलमा पनि कालोबजारी बढेको थियो। 

- RSS