काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट भारतमा मंगलबार एकैदिन ५ हजार ६११ जना संक्रमित भएका छन्।

भारतमा पहिलोपटक यो भाइरस देखिएयता एकैदिन यत्तिमा संक्रमण देखिएको अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य तथा परिवार कल्याणकारी मन्त्रालयले जनाएको छ। गत साता पनि भारतमा दुई दिनमै १० हजारमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

मन्त्रालयका अनुसार मंगलबार साँझसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ६ हजार ७५० पुगेको छ। संक्रमितमध्ये मृतकको संख्या ३ हजार ३०३ पुगेको छ। 

भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या उच्च रहेको छ। त्यहाँ हालसम्म ३७ हजार १३६ मा कोरोना पुष्टि भएकोमा १ हजार ३२५ जनाको ज्यान गइसकेको छ। 

यसैबीच इन्डियन काउन्सिल अफ मेडिकल रिचर्सका अनुसार भारतमा हालसम्म २५ लाख बढीको कोरोना टेस्टिङ भइसकेको छ। – एजेन्सी