काठमाण्डौ । भारतमा कोरोनाभाइरसविरुद्धको भ्याक्सिन यही वर्षको सेप्टेम्बर वा अक्टोबरसम्म आउन सक्ने सम्भावना रहेको दाबी गर्न थालिएको छ।

कोरोनाविरुद्धको भ्याक्सिन तयार गर्ने कार्यक्रम संलग्न भारत पुणेस्थित सिरम इन्स्टिच्युटका सीईओ अडर पुनावालाले यस्तो दाबी गरेका हुन्। ‘यदि हामीले तयार पारेको भ्याक्सिनको परीक्षण सफल भयो भने यो वर्षको सेप्टेम्बर वा अक्टोबरसम्म बजार आउँछ’, उनले भने, ‘यो भ्याक्सिनको मूल्य अधिकतम भारु १ हजार रुपैयाँ पर्नेछ।’ 

भारतको बिजनेस टुडे पत्रिकासँगको अन्तर्वार्तामा सीईओ पुनावालाले कोरोनाविरुद्धको यो भ्याक्सिनको एड्भान्स परीक्षणअघि नै उत्पादन सुरु गर्ने कोसिस भइरहेको बताएका छन्। ‘मे महिनाको अन्त्यदेखि यसको उत्पादन सुरु हुनेछ’, उनले भने, ‘अनि सेप्टेम्बर वा अक्टोबरसम्म यो बजारमा उपलब्ध हुनेछ।’

सीईओ पुनावालाले बेलायतमा पनि कोरोनाविरुद्ध भ्याक्सिनको क्लिनिकल ट्रायल गर्ने घोषणा भइसके पनि भारत भ्याक्सिन उत्पादन गर्ने पहिलो देश बन्ने दाबी गरे। ‘हामी मे महिनामा यो भ्याक्सिनको मानवमा परीक्षण सुरु गर्ने छौँ’, उनले भने। 

पुनावालाले कोरोनाभाइरविरुद्धको भ्याक्सिन बनाउन आफूहरु तयार रहेको बताएका छन्। ‘पुणेस्थित हाम्रो औषधि कारखानामा यो भ्याक्सिन उत्पादन गर्न ५००–६०० करोडसम्म लगानी गरेका छौँ’, उनले भने, ‘यसका साथै आउँदो २–३ वर्षका लागि कोरोनाविरुद्धको भ्याक्सिन बनाउन नयाँ कारखाना स्थापना गर्नेछौँ।’

सीईओ पुनावालाले आगामी तीन सातापछि भ्याक्सिन बनाउन सुरु हुने पनि बताए। ‘सुरुआतमा महिनामा ५० लाख डोजसम्म कोरोनाविरुद्धको भ्याक्सिन बाउनेछौँ’, उनले भने, ‘त्यसपछि उत्पादन बढाएर महिनामै १ करोड डोज पुर्याउने आफूहरुको लक्ष्य लिएका छौँ।’ 

सेप्टेम्बर र अक्टोबरमा भने तत्काल उत्पादन बढाएर महिनामा ४ करोड डोजसम्म पुर्याएने पुनावालाले बताए। ‘त्यसपछि हामी अन्य देशमा यो भ्याक्सिन पठाउन सुरु गर्छौं’, उनले भने। 

पुनावाले यो संस्थाको स्थापना १९६६ मा गरेका थिए। यो विश्वको सबैभन्दा धेरै भ्याक्सिन बनाउने कम्पनी हो। त्यहाँ हरेक वर्ष विभिन्न रोगविरुद्धका १.५ अर्ब डोज भ्याक्सिन तयार हुन्छ। 

विश्वका करिब ६५ प्रतिशत बालबालिकालाई त्यहाँ उत्पादन भ्याक्सिन लगाइन्छ। – एजेन्सी