काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्। 

नेपाल–भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेको अध्यक्ष मल्लको भनाइ छ। सीमाबाट हुने अवैध व्यापारका कारण सरकारले राजश्वसमेत गुमाइरहेको मल्लले बताए। 

कैलाली चेम्बर अफ कमर्सले धनगढीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले भने, ‘नेपाल–भारत खुला सीमाको फाइदा उठाएर झन्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको छ। यसले सरकारी राजश्वमा समेत गम्भीर असर गरिरहेको छ। मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउन आवश्यक छ।’ 

आयातलाई व्यवस्थित गरेर निर्यात प्रवर्द्धन गर्नका लागि सरकारसँग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको समेत अध्यक्ष मल्लले बताए। सरकारले करको दायारा फराकिलो पारेर राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा उनले जोड दिए। ‘सीमाबाट हुने राजश्व चुहावट नियन्त्रण हुन सकेको छैन। कसैले राजश्व तिर्ने कसैले नतिरे पनि हुने अवस्था सिर्जना भएको छ’, उनले भने, ‘करको दायरा बढाएर राजश्व प्रणालीलाई चुस्त बनाउन आवश्यक छ।’

कर राजश्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको अध्यक्ष मल्लले बताउनुभयो। अनुशासित व्यवसाय, पारदर्शी कर प्रणाली सम्वन्धमा निजी क्षेत्र सदैव प्रतिबद्ध रहेको अध्यक्ष मल्लको भनाइ छ। आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसंग हातेमालो गर्न आफूहरु तयार रहेको उनले बताए। 

खुद्रा पसलदेखि होलसेलसम्मै बिल बिजकको व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए। 

अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक अवस्थामा नै रहेको भन्दै अध्यक्ष मल्लले चालुखर्च धान्नसमेत मुश्किल राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्ने बताए।