काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित देशमा छिमेकी मुलुक भारत चौथो स्थानमा उक्लिएको छ। कोरोना संक्रमणको मामिलामा भारत बेलायतलाई उछिन्दै चौथो स्थानमा उक्लिएको हो।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नजिक पुगेको छ। बितेको २४ घन्टामा भारतमा ११ हजार बढीमा कोरोना संक्रमण देखिएको छ। जुन हालसम्मकै उच्च पनि हो।

वल्र्ड मिटर्सको तथ्यांकअनुसार हालसम्म भारतमा २ लाख ९८ हजार २८३ जनामा कोरोना संक्रमित देखिसकिएको छ। जसमध्ये ८ हजार ५०१ जनाको ज्यान गइसकेको छ भने १ लाख ४७ हजार १९५ जना निको भएर फर्किएका छन्। 

पाँचौँ स्थानमा झरेको बेलायतमा हालसम्म २ लाख ९१ हजार ४०९ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ४१ हजार २७९ जनाको ज्यान गइसकेको छ।

उता अतिप्रभावितको सूचीको अग्रस्थानमा अमेरिका अग्रस्थानमै छ। त्यहाँ हालसम्म २० लाख ८९ हजार ८२५ जना संक्रमित भएकोमा १ लाख १६ हजार ३५ जनाको ज्यान गइसकेको छ। संक्रमितमध्ये ८ लाख १६ हजार १७४ जना निको भएर घर फर्किसकेका छन्। 

यसैगरी संक्रमणको हिसाबले ब्राजिल र रसिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। ब्राजिलमा हालसम्म ८ लाख ५ हजार ६४९ जनामा संक्रमण देखिएकोमा ४१ हजार ५८ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ९६ हजार ६९२ जना ठिक भएका छन्।

त्यस्तै रसियामा हालसम्म ५ लाख ११ हजार ४२३ जना संक्रमित भएकोमा ६ हजार ७१५ जनाको ज्यान गएको छ। निको हुने संख्या भने ३ लाख ९६ हजार ६९२ रहेको छ।

यो महामारीबाट विश्वभर भने ७६ लाख ९ हजार ७३१ जना संक्रमित भइसकेका छन्। जसमध्ये ४ लाख २४ हजार ८४ जनाको मृत्यु भइसकेको छ भने ३८ लाख ५२ हजार ३४१ जना निको भएका छन्।

संक्रमणको हिसाबले नेपाल ७४ औँ स्थानमा छ। नेपालमा हालसम्म ४ हजार ६१४ जना संक्रमित भएका छन्। तीमध्ये १५ जनाको ज्यान गइसकेको छ भने ८६१ जना निको भएर घर फर्किएका छन्। – एजेन्सी