काठमाण्डौ । भारत सरकारले दिने भनेको ५० हजार मेट्रिकटन गहुँ तुरुन्त मगाउन सरकारसँग मैदा उद्योगहरुले आग्रह गरेका छन्।
नेपाल मैदा उद्योग संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यसतो माग गरेको हो। ‘मैदा उद्योग कृषिमा आधारित उद्योगमध्ये नेपालमा आत्मनिर्भर भइसकेको उद्योग हो’, विज्ञप्तिमा भनिएको छ, ‘गहुँको अभावमा मैदा–आँटाको अभाव सिर्जना भएकोले नेपाल सरकारसँग संघको विनम्र अनुरोध छ कि भारत सरकारसँग कुरा गरी चाँडोभन्दा चाँडो थप गहुँ उपलब्ध गराइदिन अनुरोध छ।’
अहिले प्राप्त ५० हजार मेट्रिकटन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्ने संघले जनाएको छ। ‘त्यसपश्चात फेरि हाहाकार मच्चिन सक्छ’, संघले भनेको छ, ‘नेपालमा गहुँको सिजन आउन अझ ३ महिना बाँकी छ। बाँकी ३ महिनाका लागि ३८ वटा उद्योगलाई लगभग २ लाख मेट्रिकटन गहुँ आवश्यक पर्छ।’
गहुँ उपलब्ध भएमा यहाँका उद्योग चल्ने र सबै क्षेत्रलाई फाइदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडि बढाइदिन समेत सरकारसँग संघले आग्रह गरेको छ।
भारत सरकारले गत वैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा–आँटाको चरम अभाव भएको छ। मैदा–आँटा कच्चा पदार्थका रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी–नान, भोजनालय, रेस्टुरेन्टलगायत ठूला–साना सबै होटेललाई मागअनुसारको मैदा–आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएको संघले जनाएको छ। ‘कसरी मैदा–आँटा उपलब्ध गराउने भनी मैदा व्यवसायी चिन्तित छन्’, विज्ञप्तिमा भनिएको छ, ‘आमउपभोक्ताको दैनिक खाद्यान्नका रुपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएकोले उनीहरुलाई समेत प्रत्यक्ष प्रभाव पर्ने भएको छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19