काठमाण्डौ । सेयर बजारमा मंगलबार भारी अंकको बढोत्तरीका साथ हरियाली छाएको छ। 

बजार आज ५१.३१ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९४२.६३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ८.८५ अंकले बढेर ३६७.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम बढेर सवा २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार दुर्गा तिवारी सबैतिर सकारात्मक समाचार आइरहेकोले बजार लगातार बढिरहेको बताउँछिन्। ‘कर्जाको ब्याजदर घट्दै जाने समाचार र धितोपत्र बोर्ड नयाँ ब्रोकर लाइसेन्स दिन थाल्नुले लगानीकर्तामा बजारप्रति विश्वास बढ्न थालेको छ’, उनले भनिन्, ‘त्यही कारण आज सूचकसँगै कारोबार पनि बढेको छ।’ 

बजारको बढोत्तरीले निरन्तरता पाएमा अझै माथि जान सक्ने तिवारीको अनुमान छ।

अर्का बजार जानकार सूर्यनारायण पौडेल कर्जाको ब्याजदर घट्दै जाने नेपाल बैंकर्स संघले जानकारी गराएका कारण बजारमा चमक आएको बताउँछन्। ‘यसले लगानीकर्ताको मनोबल बढाएको छ, त्यही कारण बजारमा हरियाली छाएको हो’, उनले भने।

अहिले सेयर बजारको सिजन पनि सुरु भएको पौडेल बताउँछन्। ‘आउँदो बजेट र मौद्रिक नीति पुँजीबजारलाई लिएर केही न केही कुरा सम्बोधन हुने पनि आँकलन गर्न सकिन्छ’, उनले भने। 

केही दिनदेखि लगातार बढेको बजारमा थप उकालो लागेको पौडेल बताउँछन्। ‘प्राविधिक रुपमा पनि बजार बुलिस नै रहने देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.०५ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ४.०३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.७३ प्रतिशत, विकास बैंक समूहमा २.३६ प्रतिशत, वित्त समूहमा ३.०९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.४५ प्रतिशत, जलविद्युत समूहमा २.७३ प्रतिशत, लगानी समूहमा २.८१ प्रतिशत, जीवन बीमा समूहमा ३.८० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.९१ प्रतिशत, अन्य समूहमा २.३७ प्रतिशत र व्यापार समूहमा ३.८० प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीका ६० लाख ६७ हजार ४३२ कित्ता सेयर २ अर्ब २० करोड २३ हजार ९४६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक १० करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको ८ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ७ करोड २३ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ७ करोड १९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ७९ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ करोड १० लाख रुपैयाँ, युनिलिभर नेपालको ४ करोड ६७ लाख रुपैयाँ, नागरिक लगानी कोषको ४ करोड ४४ लाख रुपैयाँ, एभरेस्ट बैंकको ४ करोड ४२ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा लघुवित्त संस्थाको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। कालिका लघुवित्त, खप्तड लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा सामुदायिक लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन आदर्श लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेको छ।