काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि बजार भारी अंकले ओरालो लागेको छ।

आज बजार ७३.०५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६८५.४२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.९४ अंकले घटेर ५०६.३३ को विन्दुमा समेटिएको छ। कारोबार रकम पनि सवा ५ अर्ब रुपैयाँबराबरको हाराहारीमा भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल वनको बाघले भन्दा लगानीकर्तालाई मनको बाघले खाएको तर्क गर्छन्। ‘बजार केही सम्हालिन खोजेको पनि थियो तर लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजार लगातार घटिरहेको हो’, उनले भने। 

यो महिना बैंकको ब्याज तिर्नुपर्ने, ऋण नवीकरण गर्नुपर्ने र बडादसैँ पनि परेकोले बजारमा बिक्रीचाप परेको ढकालको भनाइ छ। ‘दसैँको खर्च जोहो गर्न पनि अहिले लगानीकर्ताहरुले धमाधम सेयर बेचिरहेका छन्’, उनले भने। 

कात्तिकबाट तरलता सहज हुने हुँदा ब्याजदर बढ्ने सम्भावना नदेखिने पनि ढकालले बताए। आउने साताबाट बजार सम्हालिन सक्ने उनको भनाइ छ। त्यसैले अहिले आत्तिएर सेयर बेच्नुभन्दा पनि घटेको बेला उठाउँदा फाइदा हुने उनको सुझाव छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट लगानीकर्ता बढी आत्तिएको अवस्था रहेको बताउँछन्। ‘सोही कारण बजारको महौल बिग्रिन पुगेको हो’, उनले भने।

अहिले दसैँको खर्च जोहो गर्दा पनि बजारमा प्रभाव परेको बिष्ट बताउँछन्। ‘बजार बियरिस भएको भने होइन’, उनले भने, ‘बजार फर्किन्छ, माथि नै जाने हो।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ४.५३ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ३.८१ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा २.२६ प्रतिशत, व्यापार समूहमा १.३५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.८ प्रतिशत, जलविद्युत समूहमा २.६८ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.६१ प्रतिशत, अन्य समूहमा २.६५ प्रतिशत, लघुवित्त समूहमा २.५७ प्रतिशत, जीवन बीमा समूहमा २.८५ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०३ प्रतिशत र लगानी समूहमा ३.१ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक १५ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको १२ करोड ९२ लाख रुपैयाँ, नेपाल बैंकको १२ करोड ८५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ११ करोड ९८ लाख रुपैयाँ, अपी पावरको ११ करोड ५६ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ११ करोड ३६ लाख रुपैयाँ, अरुण काबेली पावरको ११ करोड २२ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको १० करोड ६८ लाख रुपैयाँ र मेगा बैंकको १० करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

भारी अंकको गिरावट आएको बजारमा २ कम्पनीका लगानीकर्ताहरु भने मालामाल भएका छन्। मनकामना स्मार्ट लघुवित्त र मैलुङखोला जलविद्युतका लगानीकर्ताहरु मालामाल भएका छन्। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

आज ४ कम्पनीको सेयरधनीहरुले उच्च गुमाएका छन्। गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी, नेपाल फाइनान्स र कालिका पावरका सेयरधनीहरुले धेरै गुमाएका हुन्। यी चारै कम्पनीको सेयरभाउमा ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।