काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा भारी अंकको बढोत्तरी भएको छ।
बजार आज ५४.४५ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २१३२.९६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ ९.०५ अंकले बढेर ४०७.३८ को विन्दुमा पुगेको छ। कारोबार ४ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार वीरेन्द्र बिष्ट मौद्रिक नीति अन्य क्षेत्रका लागि कसिलो भए पनि पुँजीबजारका लागि केही लचिलो आएको बजारमा रौनक फर्किएको बताउँछन्। ‘सेयर धितो कर्जाको सीमालाई यथावत राख्दै राष्ट्र बैंकले ४–१२ र जोखिम भारमा केही खुकुलो नीति अपनाएको छ’, उनले भने, ‘योसँगै आयातमा कडाइ गरिँदा अन्य क्षेत्रको पैसा पनि पुँजीबजारमै आउने सम्भावना छ।’
अबको ४–६ महिनामा विदेशी मुद्राको सञ्चिती पनि बढ्ने बिष्टको भनाइ छ। ‘योसँगै आर्थिक पुनरुत्थान हुने आँकलनले पुँजीबजारमा चमक देखिएको हो’, उनले भने।
यिनै विविध कारणले अबको ६ महिनामा बजार २५०० देखि २७०० सम्म पुग्न सक्ने बिष्टको अनुमान छ।
स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की बजार धेरै घटेका कारण बाउन्स भएको बताउँछन्। ‘बजारमा धेरै खालका प्रेसरहरु थिए’, उनले भने, ‘४–१२ को दबाब, मौद्रिक नीतिको डर थियो। तर मौद्रिक नीति खासै नेगेटिभ आएन।’
घरजग्गालगायत अन्य क्षेत्रमा कडाइ गर्दा पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता पनि बजार पस्दा बजारमा बाउन्स आएको कार्की बताउँछन्। ‘अब बजार रिस्क एन्ड रिवार्डको अवस्थामा चल्ने देखिन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन वित्त समूह सर्वाधिक ७.९ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूहमा ५.८४ प्रतिशतले बढ्दा बैंकिङमा १.५५ प्रतिशत, व्यापार समूहमा २.४३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.७३ प्रतिशत, जलविद्युत समूहमा ४.५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.५३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.२२ प्रतिशत, अन्य समूहमा ०.९ प्रतिशत, लघुवित्त समूहले ३.९९ प्रतिशत, जीवन बीमा समूहमा २.१५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६८ प्रतिशत र लगानी समूहमा २.५९ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता सेयर ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक १५ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको १४ करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको ११ करोड ५१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ४९ लाख रुपैयाँ, अपर तामाकोशीको १० करोड ६० लाख रुपैयाँ, अपी पावरको ८ करोड ९६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ८ करोड ७१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड १४ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ७ करोड ७७ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ७ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स, सूर्योदय वोमी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त र बलेफी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा समृद्धि फाइनान्स, गोर्खाज फाइनान्स, गुहेश्वरी मर्चेन्ट, श्री इन्भेस्टमेन्ट, पोखरा फाइनान्स र सिन्धु विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
आज राधी जलविद्युत, प्रोग्रेसिभ फाइनान्स, उन्नति सहकार्य लघुवित्त, रिलायन्स फाइनान्स र जानकी फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन युनिलिभरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago