काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

आज बजारमा २८.३१ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक १८३८.४८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.२४ अंकले घटेर ३४८.७९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब १५ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार महेश रिजाल आज बजार घट्नुको मुख्य कारण चैत मसान्तको प्रभाव नै रहेको बताउँछन्। ‘भोलिसम्म चैत मसान्तको प्रभाव पर्न सक्छ’, उनले भने। 

बजार पहिलाको न्यून विन्दु १८०० भन्दा तल नजाने पनि रिजाल बताउँछन्। ‘वैशाख लागेसँगै र ब्याजदर घट्दै जाँदा बजार सम्हालिन सक्छ’, उनले भने।

अर्का बजार जानकार विष्णु भुसाल पनि चैत मसान्तको प्रभावले नै बजार घटेको बताउँछन्। ‘लगानीकर्ताले कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट कुरेको पनि हुन सक्छ’, उनले भने।

अहिले अन्य सेक्टर सुस्ताएकोले त्यसको प्रभाव सेयर बजारमा परेको हुन सक्ने भुसाल बताउँछन्। उनी पनि बजार पहिलाकै न्यून विन्दु १८०० भन्दा तल नजानेमा विश्वस्त छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक २.३५ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह १.९२ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.२६ प्रतिशत, विकास बैंक समूहमा १.८० प्रतिशत, वित्त समूहमा १.७६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३६ प्रतिशत, लगानी समूहमा १.०५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१६ प्रतिशत, लघुवित्त समूहमा १.३२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८२ प्रतिशत, अन्य समूहमा १.२१ प्रतिशत र व्यापार समूहमा १.३० प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६८ कम्पनीका ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४१२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नबिल बैंकको सर्वाधिक ५ करोड ७८ लाख ५५ हजार रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ५ करोड ७८ लाख ३७ हजार रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ३ करोड ४७ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३ करोड २६ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको २ करोड ५४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ५३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ४८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड १२ लाख रुपैयाँ, अपी पावरको २ करोड १० लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज कालिञ्चोक दर्शनका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

आज माया खोला हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।