-चन्द्रकान्त खनाल
रुपन्देही । रुपन्देहीका सीमा क्षेत्रमा अहिले भारतीय रुपैयाँ सटही गर्नेको घुइँचो छ । भन्सार नाका भएकाले भारतबाट सामान बोकेर नेपाल आउने मालबाहक सवारीलाई दिन भारु पैसा यहाँका व्यवसायीसँग छैन । 

भारतमा काम गरेर फर्कने नेपाली र नेपालमा काम गरेर फर्कने भारतीय नागरिक यसको प्रत्यक्ष मारमा छन् । बेलहिया हुँदै स्थलमार्गबाट आउने पर्यटक झनै समस्यामा छन् । नेपाल राष्ट्रबैंकले पनि व्यवसायीको आवश्यकताअनुसार भारु पैसा दिएको छैन । भारु नोट प्रतिबन्धपछि विभिन्न टिकाटिप्पणी सुरु भएका छन् ।

यहाँका व्यवसायीहरुले सरकारको निर्णय दूरदर्शी भए पनि हतारमा गरिएको टिप्पणी गरेका छन् । नोट प्रतिबन्धले राष्ट्रलाई पुग्ने थुप्रै फाइदाहरु भए पनि एकाएक सबै क्षेत्रमा प्रभाव पार्ने किसिमले निर्णय गर्नु राम्रो नभएको र यसलाई सच्याउनुपर्ने व्यवसायीको माग छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने नेपाल–भारत दुई छुट्टाछुट्टै मुलुक भए पनि खुल्ला सीमानाका कारण सहजै ओहोरदोहोर गर्न मिल्ने भएकाले सीमावर्ती क्षेत्रमा अन्य त्यस्तो अप्ठ्यारो हुँदैन । दुवै देशका नागरिक एकअर्काको देशमा सहजै आवतजावत गर्छन् । त्यसैले यहाँ भारतीय रुपैयाँ दैनिक प्रचलनमा अत्यधिक आउँछ । तर, सरकारले भारतीय ठूला नोट प्रतिबन्ध लगाएपछि यहाँका होटलमा बास बस्न तथा अस्पतालमा उपचार गर्न आउने भारतीय नागरिकहरु फर्किन थालेको उनको भनाई छ। 

मनिचेञ्जर व्यवसायी संघका अध्यक्ष गोपाल भण्डारीले सरकारले अन्य मुलुकको जस्तै यहाँ पनि विकल्प दिनु पर्ने बताएका छन् । 

सरकारले नोटमा रोक लगाएपछि रुपन्देही प्रहरीले पनि प्रतिबन्धित भारतीय रुपैयाँको कारोबार नगर्न आग्रह गरेको छ । प्रहरीले प्रतिबन्धित पैसाको कारोबार गरेमा कारबाही गर्ने जनाएपछि नोट सटही बन्द गरिएको छ ।

बिना पूर्व जानकारी गरिएको भारतीय नोटबन्दीको निर्णयले दैनिक गरिखाने मजदुर, सर्वसाधारणदेखि सीमा क्षेत्रका व्यापार व्यवसायी समेत मारमा परेका छन् ।